यामाहाले ल्यायो हिमालय रोडिज सिजन ८ को प्रि–अडिसन, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
काठमाडौं । यामाहा रेसिङले हिमालय रोडिज सिजन ८ का लागि प्रि अडिसनको घोषणा गरेको छ। माउन्टेन ड्यूसँगको सहकार्यमा प्रस्तुत हुने यस सिजनको मुख्य थिम ‘एटिट्युड भर्सेस अल्टिच्युड’ रहेको छ।
प्रि–अडिसन आगामी अगस्ट १५ देखि सुरु हुनेछ। प्रि–अडिसनमा सहभागी हुनेमध्ये छनोट भएका प्रतिस्पर्धीले ब्लू टिकट प्राप्त गरी कार्यक्रमको पीआई राउन्डमा सिधै प्रवेश गर्ने अवसर पाउनेछन्।
प्रि–अडिसन नेपालका विभिन्न सहरस्थित यामाहा शोरुममा आयोजना हुनेछ। पहिलो चरण धरानस्थित विजयपुर ट्रेडर्स, लाङ्गाली चोकबाट सुरु हुनेछ। त्यसपछि बिर्तामोड, हेटौंडा, बुटवल, बर्दिबास, धनगढी हुँदै काठमाडौंमा प्रि–अडिसन आयोजना हुने यामाहाले जनाएको छ।
तालिकाअनुसार अगस्ट १५ मा धरान, अगस्ट १६ मा बिर्तामोड, अगस्ट १७ मा हेटौंडा र बुटवल, अगस्ट १८ मा बर्दिबास, अगस्ट १९ मा धनगढी तथा अगस्ट २० मा काठमाडौंमा प्रि–अडिसन हुनेछ।
हिमालय रोडिज सहभागीको मनोवृत्ति, सहनशक्ति र चुनौती सामना गर्ने क्षमताको परीक्षण गर्ने रियालिटी शोका रूपमा परिचित छ। ‘एटिट्युड भर्सेस अल्टिच्युड’ थिमले उच्च हिमाली भूभाग तथा आफ्नै सीमाभन्दा माथि उठेर चुनौती सामना गर्ने साहसलाई प्रतिनिधित्व गर्ने यामाहाले जनाएको छ।
यामाहा रेसिङले नेपालमा युवालक्षित विभिन्न प्लेटफर्म तथा गतिविधिलाई निरन्तर साथ दिँदै आएको छ। ऊर्जा, जोश र चुनौती सामना गर्ने साहसलाई प्राथमिकता दिने ब्रान्डको अवधारणासँग रोडिजको नयाँ सिजनको थिम समेत जोडिएको कम्पनीको भनाइ छ।
रोडिजमा सहभागी हुन इच्छुकलाई तोकिएको मितिमा आफ्नो सहरमा रहेको यामाहा शोरुममा उपस्थित भएर प्रि–अडिसनमा सहभागी हुन कम्पनीले आग्रह गरेको छ। छ दिनमा सात सहरमा आयोजना हुने प्रि–अडिसनले हिमालय रोडिजको आठौँ सिजनको सुरुवात गर्नेछ।













