३० श्रावण २०८३, शनिबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे कर्जा लगानी २ खर्ब नाघ्याे, अघिकांश सूचक घट्दा लाभांश क्षमता कस्ताे ?



काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खुद नाफामा भारी गिरावट आएको छ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६८ प्रतिशतले घटेको हो।

अघिल्लो वर्षको असार मसान्तसम्म ४ अर्ब ३३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ।

नाफामा आएको यो गिरावटसँगै बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी पनि घटेको छ। अघिल्लो वर्ष १४ अर्ब २० करोड ६२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा ८.९३ प्रतिशतले घटेर १२ अर्ब ९३ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ।

यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि ५.७६ प्रतिशतले घटेर १७ अर्ब २ करोड ५१ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १८ अर्ब ६५ करोड २७ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको सञ्चालन मुनाफा पनि ३२.६४ प्रतिशतले घटेर ४ अर्ब ३४ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ६ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ ऋणात्मक (घाटामा) रहेको छ। वितरणयोग्य मुनाफा नै भारी घाटामा रहेका कारण यस वर्ष बैंकले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्न सक्ने क्षमता राख्दैन अर्थात् लाभांश क्षमता शून्य रहेको छ।

हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ५९ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको निक्षेप संकलन २.३१ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब ६३ करोड २ लाख रुपैयाँ पुगेको छ। कर्जा प्रवाह पनि ०.३९ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) मा पनि ठूलो गिरावट आएको छ। अघिल्लो वर्ष १२.६९ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर ८.०५ रुपैयाँमा सीमित भएको छ। यद्यपि, समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपातमा भने सुधार आएको छ। अघिल्लो वर्ष ६.३५ प्रतिशत रहेको खराब कर्जा घटेर यस वर्ष ५.१५ प्रतिशत कायम भएको छ।