३० श्रावण २०८३, शनिबार

घाटाबाट उठ्दै एनआईसी एशियाले कमायाे १ ८ करोड नाफा, कस्ता छन् अन्य सूचकहरू ?



काठमाडौं । गत आर्थिक वर्षमा एनआईसी एशिया बैंक लिमिटेडको वित्तीय विवरणमा ठूलो उतारचढाव देखिएको छ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ८७ करोड २ लाख रुपैयाँ ऋणात्मक (घाटामा) रहेको थियो।

नाफामा सुधार देखिए पनि बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी भने घटेको छ। यस अवधिमा बैंककाे खुद ब्याज आम्दानी २२.५६ प्रतिशतले घटेर ७ अर्ब ८४ करोड ५० लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्ताे आम्दानी १० अर्ब १३ करोड ५ लाख ७७ हजार रुपैयाँ रहेको थियाे ।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ ऋणात्मक (घाटामा) रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा १० अर्ब ६७ करोड ६१ लाख रुपैयाँ ऋणात्मक थियो।

वितरणयोग्य मुनाफा भारी घाटामा रहेका कारण यस वर्ष बैंकले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्न सक्ने क्षमता राख्दैन अर्थात् लाभांश क्षमता शून्य रहेको छ।

यसैगरी, बैंकको सञ्चालन मुनाफा ४३ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ९७ करोड १८ लाख रुपैयाँ धनात्मक रहेको थियो।

नाफामा आएको सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) मा भने सकारात्मक परिवर्तन देखिएको छ। अघिल्लो वर्ष २५.९६ रुपैयाँ ऋणात्मक रहेको इपीएस समीक्षा अवधिमा सुधार भई १२.२२ रुपैयाँ सकारात्मक पुगेको छ। यस्तै, समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ६.३५ प्रतिशतबाट घटेर ३.२० प्रतिशत कायम भएको छ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड १७ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको निक्षेप संकलन ६.२७ प्रतिशतले बढेर ३ खर्ब ४३ करोड ६७ लाख रुपैयाँ पुगेको छ। यता, बैंकको कर्जा प्रवाह भने १.१४ प्रतिशतले घटेर १ खर्ब ९२ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ।