आइएमई लाइफको व्यवसाय विस्तार आक्रामक: कुल बीमाशुल्क ३६ प्रतिशत बढ्याे, जीवन बीमा कोष १८ अर्बमाथि
काठमाडाैं । गत एक वर्षमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब ७३ करोड ६९ लाख ४७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
शनिबार प्रकाशित गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीकाे कुल बीमाशुल्क आर्जन ३६.८६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ककम्पनीले ५ अर्ब ६५ करोड ५२ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियाे ।
कम्पनीले समीक्षा वर्षमा कम्पनीकाे खुद बीमाशुल्क ३५.८२ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेकाे छ। अघिल्लो वर्षमा कम्पनीले ५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
आइएमई लाइफकाे नाफामा भने झिनाे सुधार मात्रै देखिएकाे छ। असार मसान्तसम्म कम्पनीकाे नाफा ०.२३ प्रतिशतले बढेकाे छ। यस अवधिमा कम्पनीले ५८ करोड ४४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ५८ करोड ३१ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियाे ।
यता जीवन बीमा कोषको आकार भने ३९.४० प्रतिशतले बढेर १८ अर्ब २७ करोड ४२ लाख २८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १३ अर्ब १० करोड ९० लाख ६५ हजार रुपैयाँमा सीमित थियो।
कम्पनीको जगेडा तथा अन्य इक्विटीतर्फ नजर लगाउँदा, समीक्षा अवधिमा शेयर प्रिमियम बापत ५२ करोड ३८ लाख १६ हजार रुपैयाँ सुरक्षित छ। यसैगरी, आपत्कालीन जोखिम व्यवस्थापनका लागि छुट्याइएको महाविपत्ति कोषमा ३२ करोड २१ लाख २८ हजार रुपैयाँ जम्मा भएको छ भने रिटेन्ड अर्निङमा ७१ करोड ३३ लाख ५५ हजार रुपैयाँ र अन्य इक्विटीमा २२ करोड ४६ लाख ९८ हजार रुपैयाँ कायम भएको छ।
पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) मा पनि सकारात्मक सुधार देखिएको छ। समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ११.६८ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३५.६६ रुपैयाँ र पीई रेसियो ३४.९२ गुणा रहेको वित्तीय विवरणले देखाएको छ।













