इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा पाँचजनाको मृत्यु
इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौं पराकम्पका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।
प्रान्तीय गभर्नरका अनुसार सुत्केरी र निद्रामा रहेका बेला घरका भग्नावशेषले थिचेर उनीहरूको ज्यान गएको हो । पूर्वी नुसा तेङ्गारा प्रान्तका गभर्नर इमानुएल मेल्कियाडेस लाका सेनाले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यद्यपि, राष्ट्रिय विपद् व्यवस्थापन निकाय बीएनपीबीले भने भूकम्पका कारण एकजनाको मृत्यु भएको र चारजना घाइते भएको बताएको छ ।
भूकम्पपछि सो दक्षिणपूर्वी एसियाली देशका विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामी लहरहरू रेकर्ड गरिएका थिए । भूकम्प गएको करिब तीन घण्टापछि सुनामीको चेतावनी हटाइएको थियो । अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने यस भूकम्पबाट अस्ट्रेलियाको मुख्य भूमि, टापुहरू वा क्षेत्रहरूमा कुनै पनि सुनामीको खतरा नरहेको स्पष्ट पारेको थियो ।
इन्डोनेसियाली भौगर्भिक निकाय बीएमकेजीका अनुसार पहिलो भूकम्प शनिबार बिहान ४ बजेर ५८ मिनेट जाँदा १५ किलोमिटर गहिराइमा गएको थियो । त्यसलगत्तै धेरै वटा पराकम्प महसुस गरिएको थियो ।
पूर्वी नुसा तेङ्गारा, पश्चिम नुसा तेङ्गारा र दक्षिण सुलावेसीका केही भागमा भूकम्पको कडा झट्का महसुस गरिएको थियो । धेरै क्षेत्रका बासिन्दाले करिब एक मिनेटसम्म जमिन हल्किएको बताएका छन् । अधिकांश मानिसहरूले ठूलो धक्का महसुस गरेर घरबाट बाहिर भागेका थिए ।
सामाजिक सञ्जालमा भाइरल भएको र प्रमाणित गरिएको एक भिडियोमा फ्लोरेस टापुको सिक्का रीजेन्सीस्थित मोउमेरे बन्दरगाहमा मानिसहरू चिच्याउँदै सडकमा भाग्दा भवनका अंशहरू भग्नावशेषमा परिणत भएको देखिएको छ ।
पूर्वी नुसा तेङ्गाराको तालीबुरा गाउँकी ५१ वर्षीया बासिन्दा नोना भन्छिन्, “भूकम्प निकै ठूलो थियो, झट्का यति शक्तिशाली थियो कि हामी परिवारसँग घरमा आराम गरिरहेका थियौं । घरभित्र हामी १३ जना थियौं र सबैजना ज्यान बचाइहाल्न बाहिर दौडियौं ।” त्यस्तै, पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डे जिल्लास्थित एक अस्पतालले बिरामीहरूलाई बाहिर सरुवा गरिरहेको दृश्य टेलिभिजन फुटेजमा देखिएको छ भने कम्तीमा एक ठाउँमा पहिरो गएको समाचार बाहिर आएको छ ।
आपत्कालीन व्यवस्थापन निकायका अनुसार नागेकेओ क्षेत्रका करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पका कारण धेरै घर, गोदाम र सरकारी संरचनाहरूमा क्षति पुगेको छ । साथै, रीजेन्सीका केही भागमा यातायात अवरुद्ध हुनुका साथै विद्युत सेवा समेत प्रभावित भएको छ ।
स्मरण रहोस्, इन्डोनेसिया पृथ्वीको पत्र (क्रस्ट) का विभिन्न टेक्टोनिक प्लेटहरू आपसमा मिल्ने अत्यधिक भूकम्पकीय जोखिमयुक्त क्षेत्र अर्थात् ‘प्यासिफिक रिङ अफ फायर’ मा अवस्थित छ, जसका कारण यहाँ बारम्बार भूकम्प र ज्वालामुखीका घटनाहरू भइरहन्छन् ।
-रोयटर्सबाट ।













