३० श्रावण २०८३, शनिबार

बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्सको दोहोरो अङ्कको वृद्धि, कस्ता छन् अन्य सूचक ?



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमा व्यवसाय विस्तार भए पनि खुद नाफामा भने उल्लेख्य कमी आएको छ।

समीक्षा अवधिमा कम्पनीले ६ अर्ब २१ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन १०.३२ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १०.७९ प्रतिशतले बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले समीक्षा अवधिमा पुनर्बीमाका लागि ४ अर्ब २५ करोड ६२ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च ३ अर्ब ८६ करोड २७ लाख रुपैयाँ रहेको थियो।

व्यवसायको आकार बढे पनि खर्च तथा अन्य वित्तीय दायित्व बढ्दा कम्पनीको नाफामा त्यसको प्रतिकूल प्रभाव परेको छ।

शिखर इन्स्योरेन्सले समीक्षा अवधिमा १३ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसअनुसार एक वर्षको अवधिमा कम्पनीको नाफामा ठूलो गिरावट आएको हो।

३ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडा १ अर्ब ९८ करोड २६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, महाविपत्ति कोषमा १६ करोड ७६ लाख, रिटेन्ड अर्निङमा ७ करोड ९८ लाख तथा अन्य इक्विटीमा ६२ करोड १६ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष कम्पनीको विशेष जगेडा १ अर्ब ९१ करोड ७६ लाख, महाविपत्ति कोष १६ करोड ११ लाख, रिटेन्ड अर्निङ २१ करोड ४ लाख तथा अन्य इक्विटी ५९ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ९५ पैसा कायम भएको वित्तीय विवरणमा उल्लेख छ।समग्रमा, शिखर इन्स्योरेन्सको बीमा व्यवसाय तथा बीमाशुल्क आर्जनमा दोहोरो अंकको वृद्धि भए पनि पुनर्बीमा तथा अन्य खर्चमा भएको वृद्धिसँगै नाफामा संकुचन आएको देखिन्छ।