भदाैका लागि वाणिज्य बैंकहरूकाे ब्याजदर थप सस्ताे, कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?
काठमाडौँ। बैंकिङ क्षेत्रमा उच्च तरलता कायम रहेका कारण वाणिज्य बैंकहरूले आउँदो भदौ महिनाका लागि निक्षेपको ब्याजदर थप ओरालो झारेका छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार साउनको तुलनामा भदौमा निक्षेपकर्ताले पाउने प्रतिफलमा गिरावट आएको हो।
भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशत कायम भएको छ, जुन साउन महिनाको (४.१६७५ प्रतिशत) दाँजोमा ०.०३१५ प्रतिशतविन्दुले कम हो। त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत प्रतिफल पनि ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा आइपुगेको छ।
नेपालका २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकले व्यक्तिगततर्फको ब्याजदर घटाएका छन् भने १५ वटाले साउनकै दरलाई निरन्तरता दिएका छन्। व्यक्तिगत निक्षेपको दर घटाउनेहरूमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। संस्थागततर्फ भने नेपाल बैंक र सिद्धार्थ बैंकले मात्र ब्याज घटाएका हुन्।
सबैभन्दा धेरै कटौती सिद्धार्थ बैंकले गरेको छ। उसले व्यक्तिगत निक्षेपमा ०.२९ प्रतिशतविन्दु र संस्थागतमा ०.२ प्रतिशतविन्दुले दर घटाउँदै भदौका लागि क्रमशः ३.७६ प्रतिशत र ३.०५ प्रतिशत कायम गरेको छ। यस्तै, नेपाल बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतविन्दु र संस्थागतमा ०.५ प्रतिशतविन्दु घटाएर क्रमशः ४.१५ प्रतिशत र ३.५ प्रतिशत बनाएको छ।
अन्य बैंकहरूमध्ये सिटिजन्स बैंकले व्यक्तिगत दर घटाएर ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत तोकेका छन्।














