३१ श्रावण २०८३, आइतबार

नाइमा एक्स्पोको आज अन्तिम दिन: ५३ नयाँ गाडी लन्च, १ लाख ५० हजार बढीले गरे अवलोकन



काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज साउन ३१ गते आइतबार औपचारिक रूपमा समापन हुँदैछ। साउन २६ गतेदेखि ६ दिनका लागि सुरु भएको यस मेलाको पाँचौँ दिनसम्ममै आयोजकले राखेको लक्ष्यभन्दा बढी मानिसहरूले अवलोकन गरिसकेका छन्।

शनिबार एकैदिन ४२ हजारभन्दा बढी मानिसले मेलाको अवलोकन गरेका थिए। यससँगै पाँच दिनको अवधिमा अवलोकनकर्ताको कुल संख्या १ लाख ५० हजार नाघेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनको अवधिमा डेढ लाख मानिसले मेला अवलोकन गर्ने अनुमान गरेकोमा पाँचौँ दिनमै त्यो लक्ष्य पूरा भएको हो।

शनिबार मेलास्थलमा मानिसको चाप अनपेक्षित रूपमा बढेपछि पार्किङ व्यवस्थापन गर्न कठिन भएको थियो। भृकुटीमण्डपभित्रका खाली ठाउँ, नेपाल पुलिस क्लबको दुईतले भवन तथा खाद्य गोदामको परिसर प्रयोग गर्दा पनि अवलोकनकर्तालाई पार्किङ पाउन सकस परेको थियो।

पटक-पटक परेको ठूलो झरीलाई बेवास्ता गर्दै मानिसहरू भृकुटीमण्डप पुगिरहेका थिए। काठमाडौँ सुनचाँदी व्यवसायी संघका सचिव लेखरत्न शाक्यले भने, “पानीले केही बेर असर गरे पनि यहाँ गोडा राख्ने ठाउँ नै नहुने गरी भीड लागेको थियो, मैले पनि एउटा स्कुटर बुक गरेँ।” संघका सह-सचिव अभिषेक शाक्यले विगतका वर्षहरूभन्दा यसपालि धेरै मानिसहरूको सहभागिता देखिएको अनुभव बाँडे।

अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले उत्साहजनक सहभागिताले निकै खुशी बनाएको बताए। “हाम्रो मेला पूर्ण रूपमा सफल भयो भन्न अन्तिम दिनसम्म पर्खिनै परेन,” उनले भने, “लक्ष्य त पहिले नै पूरा भइसक्यो, अब अन्तिम दिन पनि अवलोकन गरेर यसलाई अझ विशेष बनाइदिन सबैमा आग्रह गर्दछु।”

एक्स्पोको पहिलो दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए। मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। नयाँ-नयाँ मोडल सार्वजनिक गर्दै वितरक कम्पनीहरूले मानिसहरूलाई आकर्षित गरिरहेका छन्।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले मानिसहरूको व्यापक उपस्थितिले मेलालाई भव्य बनाएको बताइन्। त्यसैगरी पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले यति धेरै अवलोकनकर्तालाई आकर्षित गर्न सक्नु नाइमाको ठूलो सफलता भएको बताए।

विकल्प धेरै भएकाले मेला पुगेका ग्राहकलाई आफ्नो रोजाइका सवारी साधन छान्न सहज भएको छ। विशेष गरी युवा पुस्तामा महँगा र नयाँ ब्रान्डका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनप्रति ठूलो आकर्षण देखिएको छ।

एक्स्पो अवलोकनकर्ताहरूले सवारी साधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस), ब्याट्रीको वारेन्टी/ग्यारेन्टी र पुनः बिक्री मूल्य (रिसेल भ्यालु) जस्ता प्राविधिक विषयमा बढी चासो राखेका छन्।

कम्पनीहरूले पनि ग्राहकलाई आकर्षित गर्न आकर्षक नगद छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, नि:शुल्क सर्भिसिङ र सस्तो ब्याजदरमा कर्जाजस्ता सुविधाहरू उपलब्ध गराएका छन्। मेलामा अहिलेसम्म ५३ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक भइसकेका छन्। पाँचौँ दिन लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहब प्रालिले ‘आर्कफक्स’ क्रसओभर मोडल सार्वजनिक गरेको थियो।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ। नेपालमा पहिलोपटक भित्रिएका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर र व्यावसायिक विद्युतीय सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्।

सवारी खरिदलाई सहज बनाउन बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरूले विशेष अफर र सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्। मेलाको सह-प्रायोजकका रूपमा ग्लोबल आइएमई बैंक लिमिटेड र पावर्ड बाईका रूपमा रेडबुल रहेको छ। बैंकिङ पार्टनरमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् भने इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्।