३१ श्रावण २०८३, आइतबार

देशमै पहिलो पटक ‘डिजिटल फेस्ट’ हुँदै



काठमाडौं । देशमै पहिलो पटक ‘डिजिटल फेस्ट’को अवधारणासहित राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ आयोजना हुने भएको छ। घर निर्माण फेस्टसँगै सञ्चालन गरिने डिजिटल फेस्टका लागि काठमाडौंको भृकुटीमण्डपमा छुट्टै बहुउद्देश्यीय स्टुडियो निर्माण गरिनेछ।

यस वर्षको राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ। उक्त स्टुडियोमार्फत प्रदर्शनीमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन तथा सेवासम्बन्धी जानकारी र विज्ञापन प्रस्तुत गर्न सक्नेछन्। ती सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ।

आयोजकका अनुसार डिजिटल फेस्टको मुख्य उद्देश्य फेस्टलाई भौतिक उपस्थितिमा मात्र सीमित नराखी काठमाडौं बाहिरका अवलोकनकर्ता तथा अन्तर्राष्ट्रिय पहुँच भएका दर्शकसम्म पुर्‍याउनु हो। यसबाट स्वदेशी उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षमा प्रविधिको प्रयोग व्यापक बन्दै जाँदा सामाजिक सञ्जाल तथा कन्टेन्ट मार्केटिङको स्वरूपमा समेत परिवर्तन आएको सन्दर्भमा फेस्टलाई डिजिटल माध्यमसँग जोडिएको आयोजकले जनाएको छ। यसले नेपालबाहिर रहेका नेपाली ग्राहकलाई समेत नेपालको निर्माण क्षेत्रको ठूलो मेलासँग जोड्ने विश्वास गरिएको छ।

अघिल्लो वर्ष १५० स्टल राखिएकोमा यस पटक २०० भन्दा बढी स्टल राखिने आयोजकले जनाएको छ। हालसम्म ६० प्रतिशत स्टल बुकिङ भइसकेको घर निर्माण फाउन्डेसनले जनाएको छ।

यसअघि सम्पन्न राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ को दोस्रो संस्करणमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए। नयाँ स्वरूपमा आयोजना गर्न लागिएको यस पटकको फेस्टमा दर्शकको संख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। आयोजकले कारोबार रकमसमेत ४ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याउने लक्ष्य राखेको छ।

घर निर्माणका लागि आवश्यक निर्माण सामग्री तथा त्यससम्बन्धी सम्पूर्ण जानकारी एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यसहित आयोजना गर्न लागिएको फेस्टमा ट्राइनोक्स ग्लोबलले सहकार्य गरेको छ। घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा अन्य सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

घर निर्माण फाउन्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डले आफ्नो पहिचान प्रभावकारी रूपमा प्रस्तुत गर्न, ग्राहकसँग सम्बन्ध विस्तार गर्न तथा उत्पादनलाई व्यवस्थित र आकर्षक ढंगले प्रदर्शन गर्न चुनौती सामना गरिरहेका छन्। यिनै चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागिएको हो।

गत वर्षको प्रदर्शनीमा सहभागी विभिन्न व्यवसायीले कुल साढे ३ सय करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको आयोजकको दाबी छ।