३१ श्रावण २०८३, आइतबार

नाफा जोगाउन निर्जीवन बीमा कम्पनीहरूको संघर्ष: प्रभु एक्लैले बढाउँदा अरू १३ को कमाइमा पहिरो



काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक देखिएको छैन । गत भदौमा देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका कारण नेपालको निर्जीवन बीमा क्षेत्र अहिलेसम्मकै ठूलो प्रभाव परेकाे छ।

प्रदर्शनका क्रममा भएका व्यापक तोडफोड, आगजनी र ठूलो भौतिक क्षतिका कारण परेको अस्वाभाविक बीमा दाबीले कम्पनीहरूको वित्तीय विवरण प्रभावित बनाएको हो।

प्राकृतिक विपत्ति र राजनीतिक आन्दोलनको दोहोरो मारमा परेका १४ निर्जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफा समीक्षा अवधिमा ३९.२९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ४ अर्ब ५२ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका यी कम्पनीहरूको कमाइ यस वर्ष २ अर्ब ७९ करोड १५ लाख रुपैयाँमा खुम्चिएको छ।

कम्पनीगत अवस्था हेर्दा नाफाको तस्वीर झनै कमजोर देखिन्छ। प्रभु इन्स्योरेन्सबाहेक सबै कम्पनीको खुद नाफा घटेको छ। प्रभु इन्स्योरेन्सले भने अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा बढाउन सफल भएको छ। प्रभु इन्स्योरेन्सले भने अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा ११.७१ प्रतिशतले बढाएर २६ करोड ६४ लाख रुपैयाँ पुर्‍याएको छ।

तर बाँकी कम्पनी भने नाफा जोगाउन संघर्ष गरिरहेका छन्। गत वर्ष घाटामा रहेको द ओरियन्टल इन्स्योरेन्सले घाटा सुधारेर ४९ करोड ४ लाख रुपैयाँ नाफा कमाउँदा नेसनल इन्स्योरेन्स भने अझै १३ करोड १० लाख रुपैयाँ घाटामै सीमित छ।

ठूलो मात्रामा परेको बीमा दाबी भुक्तानीका कारण बजारका ठूला भनिएका कम्पनीहरूकै नाफामा तीव्र गिरावट आएको छ। सबैभन्दा बढी धक्का आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सलाई परेको छ, जसको नाफा ९८.५९ प्रतिशतले घटेर जम्मा ४० लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ। यस्तै अघिल्लो वर्ष ४५ करोडभन्दा बढी कमाएको शिखर इन्स्योरेन्सको नाफा यसपालि ७१.२१ प्रतिशतले घट्दै १३ करोड रुपैयाँमा झरेको छ।

त्यस्तै कुल नाफाको आकारमा अगाडि देखिएको नेपाल इन्स्योरेन्सको कमाइ ५८.६९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ। यता सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ३२.७४ प्रतिशतले घटेर ३७ करोड ५४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको नाफा १९.४५ प्रतिशतले घटेर ३४ करोड ४४ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको नाफा ३६.५२ प्रतिशतले घटेर ३३ करोड ७५ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ५६.७५ प्रतिशतले घटेर ३२ करोड ६५ लाख रुपैयाँमा झरेको छ।

यसैगरी नेको इन्स्योरेन्सको नाफा ५०.१२ प्रतिशतले घटेर २८ करोड ८३ लाख रुपैयाँमा खुम्चिँदा सानिमा जीआईसी इन्स्योरेन्सको नाफा ६१.३८ प्रतिशतले घटेर १३ करोड रुपैयाँ कायम भएको छ। युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको नाफा ६२.३० प्रतिशतले घटेर ५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।