३१ श्रावण २०८३, आइतबार

ग्यास बिक्री सहज बनाउन आयल निगमको ५ बुँदे नयाँ व्यवस्था, नपाए ‘क्विक रेस्पोन्स टिम’लाई सम्पर्क गर्न सकिने



काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने एल.पी. ग्यासको बिक्री वितरणलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। निगमले यही २०८३ भाद्र १ गते सोमबारदेखि ग्यास उद्योगहरूले नियुक्त गरेका आधिकारिक विक्रेताहरूमार्फत नियमित प्रक्रिया अनुसार नै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ।

उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने ग्यास विक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिलसमेत गरेको छ।ग्यास बिक्री वितरण कार्यलाई प्रभावकारी बनाउन निगमले ग्यास उद्योगी र विक्रेताहरूका लागि अनिवार्य नियमहरू तोकेको छ। जसअनुसार ग्यास उद्योगहरूले दैनिक रूपमा बिक्री गर्ने विक्रेताको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्याको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र आयल निगममा उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, विक्रेताहरूले पनि आफूले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरको दैनिक विवरण तयार गरी उद्योगमार्फत सोही दिन निगमलाई पठाउनुपर्ने व्यवस्था गरिएको छ।ग्यास वितरण गर्दा सर्वसाधारण तथा घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्ताहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्ने निगमको निर्देशन छ। ग्यासको ढुवानी र वितरण प्रक्रियालाई सुरक्षित र सहज बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूसँग गृह मन्त्रालयमार्फत समन्वय गरिएको छ। साथै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र निगमको संयुक्त टोलीले बजारमा ग्यास वितरणको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

स्थानीय विक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका वा तत्काल अति आवश्यक परेका उपभोक्ताहरूका लागि निगमले क्वीक रेस्पोन्स टीम परिचालन गरेको छ। यस्ता उपभोक्ताले सहयोगका लागि आयल निगमको मोबाइल नम्बर ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सोझै सम्पर्क गर्न सक्नेछन्। आयल निगमको केन्द्रीय कार्यालय बबरमहलद्वारा जारी यस सूचनामार्फत ग्यास आपूर्ति प्रणालीलाई सुचारु राख्न सबै सरोकारवालाहरूलाई सहकार्यका लागि अनुरोध गरिएको छ।