विद्युत् बिक्री बढ्दा पनि प्राधिकरणको नाफामा गिरावट, विद्युत् खरिदमै ७७ अर्ब खर्च
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको विद्युत् बिक्री तथा अन्य आम्दानी बढ्दै गए पनि नाफा भने निरन्तर घटिरहेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँमा झरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४३ प्रतिशत कम हो।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले ८ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यसरी एक वर्षमै प्राधिकरणको खुद नाफा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको देखिन्छ।
प्राधिकरणको वित्तीय विवरणले विद्युत् व्यापारको आकार बढ्दै गए पनि विद्युत् खरिद, सञ्चालन तथा अन्य वित्तीय खर्च बढ्दा नाफामा दबाब परेको देखाउँछ।
यद्यपि सञ्चालनतर्फ भने प्राधिकरणले सकारात्मक सुधार हासिल गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्री तथा अन्य स्रोतबाट कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। त्यसमध्ये विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशतले बढी हो ।
अघिल्लो आव २०८१/८२ मा प्राधिकरणले विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो।
विद्युत् खरिदमै ७७ अर्ब खर्च
प्राधिकरणको खर्चमध्ये विद्युत् खरिद प्रमुख भारका रूपमा देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा विद्युत् खरिदका लागि मात्रै ७७ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो। यो अघिल्लो वर्षको तुलनामा ११.७३ प्रतिशत बढी हो।
त्यस्तै, प्राधिकरणको सञ्चालन खर्च पनि १०.१५ प्रतिशतले बढेर ९७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको थियो। विद्युत् खरिद र सञ्चालन खर्चसँगै ब्याज तथा अन्य वित्तीय दायित्व बढ्दा खुद नाफा ४३ प्रतिशतले घटेको हो।













