चेरी र ज्यागुआर ल्याण्ड रोभरको शक्तिशाली साझेदारी: बजारमा आयो नयाँ ब्रान्डको पहिलो अवतार फ्रील्यान्डर ८
काठमाडाैं । अटोमोबाइल क्षेत्रमा नयाँ तरङ्ग ल्याउँदै चेरी र ज्यागुआर ल्यान्ड रोभरको संयुक्त ब्रान्ड ‘फ्रील्यान्डर’ले आफ्नो पहिलो फ्ल्यागसिप एसयुभी ‘फ्रील्यान्डर ८’ आधिकारिक रूपमा बजारमा ल्याएकाे छ।
नयाँ ऊर्जा सवारीको ब्रान्ड फ्रिल्याण्डरअन्तर्गत उत्पादन गरिएको यो पहिलो सवारी हो। अगस्ट १४ देखि चीनको जियाङ्सु प्रान्तस्थित चाङ्सुमा फ्रिल्याण्डर ८ को अग्रिम बुकिङ खुलिसकेकाे छ।
यसकाे ६ सिटे संस्करणको मूल्य ३ लाख ४९ हजार ९ सय युआनदेखि ४ लाख २९ हजार ९ सय युआनसम्म तोकिएको छ भने ५ सिटे संस्करणको अग्रिम बुकिङ मूल्य ३ लाख ३९ हजार ९ सय युआनबाट सुरु हुन्छ।
फ्रिल्याण्डरका प्रमुख कार्यकारी अधिकृत वेन फेईले फ्रिल्याण्डर ८ मा ७८ वर्षको विलासी सवारी निर्माणको विरासत र सबै भूभागमा चल्ने सवारीसम्बन्धी अनुभवलाई पछिल्लो पुस्ताको बौद्धिक प्रविधिसँग जोडिएको बताएका छन्। उनका अनुसार चिनियाँ र बेलायती टोलीले संयुक्त रूपमा काम गरेर प्रारम्भिक अवधारणालाई उत्पादनका लागि तयार सवारीमा रूपान्तरण गरेका हुन्।
फ्रिल्याण्डर ८ को लम्बाइ ५ हजार ११८ मिलिमिटर, चौडाइ २ हजार ५० मिलिमिटर र उचाइ १ हजार ८९८ मिलिमिटर रहेको छ। यसको अगाडि र पछाडिका पांग्राबीचको दूरी ३ हजार ४० मिलिमिटर छ।
अतिरिक्त विद्युतीय दूरी दिने प्रविधियुक्त यो सवारी ८०० भोल्टको विद्युतीय प्रणालीमा निर्माण गरिएको हो। यसमा चिनियाँ कम्पनी क्याटिएलले उत्पादन गरेको ६०.३ किलोवाट घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ। चीनको हल्का सवारी परीक्षण चक्रअनुसार यसले केवल विद्युतीय शक्तिमा ३१० किलोमिटरसम्म यात्रा गर्न सक्छ।
फ्रिल्याण्डर ८ मा दुईवटा विद्युतीय मोटरसहितको चारपांग्रे सञ्चालन प्रणाली दिइएको छ। यसले संयुक्त रूपमा ६१० किलोवाट शक्ति उत्पादन गर्छ। यही शक्तिका कारण सवारीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.६ सेकेन्डमा लिन सक्छ।
सवारीमा हुवावेको एडीएस ५ चालक सहायता प्रणाली पनि उपलब्ध छ। यसले विभिन्न सडक अवस्थाका लागि मार्ग निर्देशनमा सहयोग गर्नुका साथै सवारी पार्किङ गर्नसमेत सहायता गर्छ। यसबाहेक, फ्रिल्याण्डर ८ मा बौद्धिक सबै–भूभाग प्रणाली दिइएको छ। कम्पनीका अनुसार उक्त प्रणालीले सडक तथा भूभागको अवस्था पहिचान गरी सोहीअनुसार सवारीका विभिन्न सेटिङ आफैं समायोजन गर्न सक्छ।
फ्रिल्याण्डर नाम सन् १९९७ मा पहिलोपटक सार्वजनिक गरिएको एसयूभीसँग जोडिएको छ। नयाँ सहकार्यअन्तर्गत चेरीले आपूर्ति शृंखला एकीकरण तथा बौद्धिक सवारी विकासको नेतृत्व गरेको छ भने ज्यागुआर ल्याण्ड रोभरले सवारीको डिजाइन तथा ब्रान्डसम्बन्धी अनुभव प्रदान गरेको छ।
फ्रिल्याण्डर ८ को बजार प्रवेश चेरी ज्यागुआर ल्याण्ड रोभरले नयाँ ऊर्जा सवारी उत्पादन क्षमता विस्तार गरिरहेको समयमा भएको हो। कम्पनीले चाङ्सुस्थित आफ्नो कारखानालाई नयाँ ऊर्जा सवारी उत्पादन तथा बौद्धिक उत्पादन प्रणालीका लागि स्तरोन्नति गर्न ३ अर्ब युआन लगानी गरेको छ।
चाङ्सुस्थित उक्त कारखाना ज्यागुआर ल्याण्ड रोभरको बेलायतबाहिर रहेको पहिलो पूर्ण क्षमताको सवारी उत्पादन केन्द्र हो। यसको वार्षिक उत्पादन क्षमता २ लाख सवारीसाधन रहेको छ। यही कारखानालाई फ्रिल्याण्डर ब्रान्डअन्तर्गतका सवारी उत्पादनको मुख्य आधार बनाइएको छ।
फ्रिल्याण्डरले आगामी पाँच वर्षमा ६ वटा सवारीको श्रृंखला निर्माण गर्ने योजना बनाएको छ। उक्त श्रृंखलामा पूर्ण विद्युतीय, बाह्य विद्युतबाट ब्याट्री चार्ज गर्न मिल्ने हाइब्रिड तथा अतिरिक्त विद्युतीय दूरी दिने प्रविधिमा आधारित सवारी समावेश हुनेछन्।
यसरी चेरीको चिनियाँ प्रविधि र उत्पादन क्षमतालाई ज्यागुआर ल्याण्ड रोभरको विलासी सवारी निर्माण तथा सबै भूभागमा चल्ने सवारीसम्बन्धी अनुभवसँग जोडेर फ्रिल्याण्डरलाई नयाँ ऊर्जा सवारीको छुट्टै ब्रान्डका रूपमा अघि बढाउने तयारी गरिएको छ।













