१ भदौ २०८३, सोमबार

क्षमताविकाससँगै नेतृत्व निर्माणः इन्फिनिटीका फिल्ड सहायकलाई प्रशिक्षण



काठमाडौं । इन्फिनिटी लघुवित्तले आफ्ना फिल्ड सहायक कर्मचारीलाई वर्तमान जिम्मेवारीमा अझ सक्षम बनाउँदै भविष्यमा संस्थाको नेतृत्व सम्हाल्न सक्ने दक्ष र आत्मविश्वासी जनशक्तिका रूपमा विकास गर्ने उद्देश्यले क्षमताअभिवृद्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ।

२०८३ साउन ३० गते सौराहस्थित पार्क सफारी रिसोर्टमा आयोजित कार्यक्रममा संस्थाका १०२ वटै शाखामा कार्यरत १२० जना फिल्ड सहायकको सहभागिता रहेको थियो। संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक सेयरधनी दिनेश अधिकारी प्रमुख अतिथि तथा नायब प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठ अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन नायब प्रबन्धक कृष्ण खनालले गरेका थिए।

‘भ्यालुचेन टुडे, लिडिङ टुमोरो’ भन्ने मूल भावलाई व्यवहारमा रूपान्तरण गर्दै सहभागी फिल्ड सहायकको ज्ञान, सीप, नेतृत्व क्षमता, निर्णय क्षमता तथा व्यावसायिक सोच विकासमा विशेष जोड दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिनेश अधिकारीले फिल्ड सहायकहरू संस्था र सदस्यबीच प्रत्यक्ष सम्पर्कमा रहने महत्वपूर्ण जनशक्ति भएकाले आफूलाई समयानुकूल सक्षम बनाउँदै लैजान आग्रह गरे।

प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैलीका माध्यमबाट संस्थालाई थप सशक्त बनाउन कर्मचारीलाई प्रेरित गर्दै क्षमतावान कर्मचारीलाई संस्थाभित्रै विकास गरी नेतृत्वको अवसर प्रदान गर्ने नीति रहेको बताए।

त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले भावी नेतृत्वकर्ता बन्न फिल्ड सहायकहरूले निरन्तर सिकाइ, सकारात्मक सोच, प्रभावकारी सञ्चार, समस्या समाधान तथा नेतृत्वदायी व्यवहारमा आफूलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिए।

तालिमका क्रममा जोखिम तथा असुली विभाग प्रमुख कृष्ण खनाल, कर्जा विभाग प्रमुख अमरनाथ सेढाईं, अनुगमन विभाग प्रमुख कुशल खनाल, वित्त तथा सञ्चालन विभाग प्रमुख रितु बानियाँ, आन्तरिक लेखापरीक्षण विभाग प्रमुख दीपक न्यौपाने, जनशक्ति विभाग प्रमुख प्रकाश श्रेष्ठ तथा सूचना प्रविधि विभागका रक्षा गौतमले आ–आफ्नो विषयगत क्षेत्रसँग सम्बन्धित क्षमताअभिवृद्धिमूलक प्रशिक्षण दिएका थिए।

ज्ञान, अनुभव तथा उत्कृष्ट अभ्यासको आदान–प्रदानले सहभागीको व्यावसायिक क्षमता र नेतृत्वदायी सोच विकासमा सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

फिल्ड सहायकको क्षमताविकासलाई चरणबद्ध रूपमा अगाडि बढाउने योजनाअनुरूप यो पहिलो चरणको कार्यक्रम रहेको संस्थाले जनाएको छ। आगामी चरणमा बाँकी फिल्ड सहायकलाई समेत समेट्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संस्थाले जनाएको छ।