१ भदौ २०८३, सोमबार

देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीमा जाने श्रमिक प्रभावित



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज भदौ १ गतेदेखि देशभरका सबै म्यानपावर कम्पनीहरूको सेवा बन्द गरेका छन् । संघले सरकारबाट आफ्ना माग सम्बोधनका लागि ठोस पहल नभएको भन्दै देशभरका म्यानपावर कम्पनी बन्द गरेको हो।

संघको निर्णयअनुसार सोमबारदेखि वैदेशिक रोजगार व्यवसायीका कार्यालयबाट हुने नियमित सेवा पूर्ण रूपमा रोकिएका छन्। म्यानपावर कम्पनी बन्द भएसँगै श्रमिक छनोट, आवश्यक कागजात तयार गर्ने, श्रम स्वीकृतिसम्बन्धी प्रक्रिया, भिसा प्रक्रिया तथा श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम प्रभावित हुने भएको छ।

संघले यसअघि पनि आफ्ना माग पूरा गराउन चरणबद्ध आन्दोलन गर्दै आएको थियो। आन्दोलनका क्रममा पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ रोजगारीका विज्ञापन र भिसा स्ट्याम्पिङलगायतका काम रोकिएका थिए।

वैदेशिक रोजगारीमा जाने श्रमिक प्रभावित

संघका अनुसार यसअघि श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई सम्बन्धित गन्तव्य मुलुक पठाउन दिइएको समयसीमा समेत समाप्त भएको छ। त्यसपछि व्यवसाय नै पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ।

म्यानपावर कम्पनीको सेवा ठप्प हुँदा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिक प्रत्यक्ष प्रभावित हुने भएका छन्। विशेषगरी श्रम स्वीकृति, भिसा तथा उडानको तयारीमा रहेका श्रमिकको वैदेशिक यात्रा अनिश्चित बन्न सक्ने देखिएको छ।

संघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। सरकारले तत्काल वार्तामार्फत समस्या समाधानका लागि पहल गर्नुपर्ने व्यवसायीहरूको माग छ।

वैदेशिक रोजगारी नेपालको रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण माध्यम रहेकाले म्यानपावर कम्पनीको लामो समयको बन्दले श्रमिकसँगै व्यवसायी र समग्र वैदेशिक रोजगार क्षेत्र प्रभावित हुन सक्ने देखिएको छ।