नाडा अटो शो २०२६ भदौ ९ गतेदेखि भृकुटीमण्डपमा: २ लाख आगन्तुक भित्र्याउने लक्ष्य
काठमाडाैं । नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने विश्वास व्यक्त गरिएकाे छ।
नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने जनाएकाे छ। एच.पि. लुब्रिकेन्ट्स शिर्ष प्रायोजक रहेको नाडा अटो शो २०२६ ६ दिन सम्म चल्नेछ ।
यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने छ।
नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो। यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पु¥याउने विश्वास आयोजकको रहेको छ।
लगभग तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना गरिएको यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जस्मा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका छन्।
यस कार्यक्रमको मुख्य प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ भने सह-प्रायोजक तथा बीमा साझेदारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड आबद्ध छ। त्यसैगरी पेय पदार्थ साझेदारको रूपमा क्याम्पा, चार्जिङ साझेदारमा जीआई चार्जर, आतिथ्य साझेदारमा द प्लाजा, टिकटिङ साझेदारमा खल्ती बाइ आईएमई, पिउने पानी साझेदारमा पूर्ण वाटर, यातायात साझेदारमा याङ्गो, र अग्निनियन्त्रण सुरक्षा साझेदारमा हिटको प्राइभेट लिमिटेड रहेका छन्।
त्यस्तै सञ्चार साझेदारको रूपमा वर्ल्डलिङ्क, सीसीटीभी सुरक्षा साझेदारमा हिकभिजन सीसीटीभी नेपाल, स्वास्थ्य साझेदारमा अल्का हस्पिटल प्राइभेट लिमिटेड र भोजन साझेदारको रूपमा द बेकरी क्याफे रहेका छन् भने सम्पूर्ण कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड (जेम्स) ले गरेको छ।
यस वर्षको नाडा अटो शो नाडाको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना हुँदैछ। प्रदर्शनीमा जी-वान ह्युमनोइड रोबोट र गो-टु क्वाड्रुपेड रोबोटमार्फत भविष्यको यातायात प्रविधिको प्रत्यक्ष अनुभव लिन सकिनेछ। साथै, ‘मेड इन नेपाल / मेड फर नेपाल प्याभिलियन’ मा स्वदेशमै उत्पादित सवारी साधन, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा अन्य कम्पोनेन्टहरूको प्रवर्द्धन गरिनेछ भने विभिन्न ब्रान्डका नयाँ मोडलहरूको प्रोडक्ट लन्च गरिनेछ। यसबाहेक, स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियम्स (छलफल तथा गोष्ठी) समेत सञ्चालन हुनेछन्।
अवलोकनकर्ताहरूको सहजताका लागि २ पाङ्ग्रे, ४ पाङ्ग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणहरूका लागि छुट्टाछुट्टै जोन विभाजन गरिएको छ। प्रवेश टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिने र निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको छ। सञ्चारकर्मीहरूको समन्वयका लागि मिडिया डेस्क र काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक सूचना डेस्क रहनेछ। साथै, सफा तथा स्वस्थ खाद्य पदार्थका लागि क्याफेटेरियाको व्यवस्था गरिएको छ।
पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनको अन्डरग्राउन्ड पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरको प्रयोग गरिनेछ। आपत्कालीन स्वास्थ्य टोली, सीसीटीभी सुरक्षा निगरानी, अग्निनियन्त्रण प्रणालीका साथै ह्विलचियर फ्रेन्डली (अशक्तमैत्री) वातावरणको प्रबन्ध मिलाइएको छ।
आयोजक नाडाले सम्पूर्ण अटोमोबाइलप्रेमी, उद्योग व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई ‘एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स नाडा अटो शो २०२६’ मा उपस्थित भई नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई आकार दिइरहेका नवीनतम प्रवृत्तिहरूको अनुभव गर्न आमन्त्रण गरेको छ। ६ दिनसम्म चल्ने यस नाडा अटो शो २०२६ मा करिब २ लाख आगन्तुकहरूले अवलोकन गर्ने विश्वास नाडाको रहेको छ।













