लिपमोटरका दुई मोडलमा उच्च माग, नाइमा एक्स्पोमा ३०० भन्दा बढी गाडी बुकिङ
काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ३०० भन्दा बढी गाडीको बुकिङ प्राप्त गरेको जनाएको छ।
भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन भएको एक्स्पोमा लिपमोटरको स्टलमा उल्लेख्य भीड लागेको थियो। हालै सार्वजनिक गरिएको सी१० एसयूभी र सी११ मोडलप्रति ग्राहकको विशेष आकर्षण देखिएको कम्पनीले जनाएको छ।
सी१० ले १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवरको ब्याट्री, ५०५ किलोमिटर (सीएलटीसी) सम्मको रेन्ज तथा ५१० लिटरको बुट स्पेस उपलब्ध गराउने कम्पनीको दाबी छ। आधुनिक सुरक्षा प्रविधिसहितको यस मोडल एक्स्पोको प्रमुख आकर्षणमध्ये एक बनेको कम्पनीले जनाएको छ।
त्यस्तै, लिपमोटर सी११ ले पनि अवलोकनकर्ताबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। हालै गरिएको मूल्य समायोजन तथा एक्स्पोका विशेष अफरले सी११ प्रति ग्राहकको आकर्षण थप बढाएको कम्पनीको भनाइ छ।
दुवै मोडलमा देखिएको उच्च मागका कारण लिपमोटरको स्टल एक्स्पोका व्यस्त स्टलमध्ये एक बनेको सांग्रिला मोटर्सले जनाएको छ। एक्स्पोपछि प्राप्त बुकिङअनुसार ग्राहकलाई छिटो सवारी उपलब्ध गराउने तथा नेपालभर बिक्री र सेवा सञ्जाल विस्तारमा कम्पनी केन्द्रित हुने जनाएको छ।
सांग्रिला मोटर्सले एक्स्पोमा सहभागी सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ।
लिपमोटर विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिससँगको सहकार्यमा सञ्चालित चीनको विद्युतीय सवारी ब्रान्ड भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी बिक्री गरिसकेको छ। जुलाईमा मात्रै एक लाखभन्दा बढी युनिट बिक्री भएको र ४० भन्दा बढी देशमा १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र रहेको कम्पनीको दाबी छ।













