व्यवसायीलाई राष्ट्र बैंकको सुझाव : वित्तीय साक्षरतासहित योजना बनाएर मात्रै व्यवसाय गरौं
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरेलु, साना तथा मझौला व्यवसायी र उद्यमीलाई वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरेको छ। बैंकले व्यवसायको दिगो सफलता, रोजगारी सिर्जना, नवप्रवर्तन तथा आय विस्तारका लागि सही वित्तीय ज्ञान, व्यवहार र अनुशासन आवश्यक रहेको जनाएको हो।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले मंगलबार सार्वजनिक गरेको वित्तीय चेतनासम्बन्धी सन्देशमार्फत राष्ट्र बैंकले व्यवसायीलाई व्यवसाय र व्यक्तिगत कारोबार छुट्टाछुट्टै राख्न सुझाव दिएको छ। व्यवसायको आवश्यकता पहिचान गरी उपयुक्त बैंकिङ तथा वित्तीय सेवा छनोट गर्न र डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग गर्नसमेत बैंकले आग्रह गरेको छ।
राष्ट्र बैंकले व्यवसाय सञ्चालन गर्नुअघि व्यावसायिक योजना तयार गर्न, आवश्यक पुँजी र स्रोतको मूल्याङ्कन गर्न तथा साझेदारी वा अन्य वित्तीय विकल्पका फाइदा–बेफाइदा अध्ययन गर्नुपर्नेमा जोड दिएको छ। त्यस्तै, आवश्यकता अनुसार बचत तथा भुक्तानी सेवा छनोट गर्दा सेवा शुल्क, जोखिम र अन्य लागतबारे स्पष्ट जानकारी लिन सुझाव दिइएको छ।
कर्जा लिनुअघि लागत र शर्त तुलना गर्न सुझाव
व्यवसाय व्यवस्थापनतर्फ आम्दानी, खर्च, सम्पत्ति, दायित्व तथा लगानीको व्यवस्थित हिसाब राख्न राष्ट्र बैंकले भनेको छ। वित्तीय विवरण तयार गर्ने, नगद प्रवाह व्यवस्थापन गर्ने, बजेट बनाउने तथा लेखा व्यवस्थापनमा प्रविधिको प्रयोग गर्न पनि व्यवसायीलाई आग्रह गरिएको छ।
बैंकका अनुसार व्यवसायीले छोटो र लामो अवधिका वित्तीय आवश्यकता छुट्याएर योजना बनाउनुपर्छ। व्यवसाय विस्तारका लागि आवश्यक कर्जा, साझेदारी वा पुँजीका विकल्पको लागत र शर्त तुलना गरेर मात्रै निर्णय लिनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।
त्यस्तै, व्यवसाय तथा व्यक्तिगत जीवनसँग सम्बन्धित जोखिम न्यूनीकरणका लागि बीमा र जोखिम विविधीकरणको उपाय अपनाउन सुझाव दिइएको छ। व्यवसायिक सम्पत्तिमा हुन सक्ने क्षति, वित्तीय जोखिम तथा उद्यमी र कर्मचारीसँग सम्बन्धित जोखिमलाई समेत योजनामा समेट्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।
आधिकारिक स्रोतबाट सूचना लिन आग्रह
व्यवसायको बजार, आम्दानी र खर्चमा आर्थिक, राजनीतिक, सामाजिक, प्रविधि, प्रतिस्पर्धा तथा नियामकीय वातावरणले प्रभाव पार्ने भएकाले व्यवसायीले बदलिँदो वित्तीय परिवेशबारे निरन्तर जानकारी लिनुपर्ने बैंकले जनाएको छ।
राष्ट्र बैंकले व्यवसायीलाई वित्तीय ग्राहकका अधिकार, गुनासो गर्ने निकाय तथा ग्राहक संरक्षणसम्बन्धी व्यवस्थाबारे जानकारी राख्न पनि आग्रह गरेको छ। वित्तीय सेवा छनोट गर्दा आधिकारिक तथा निष्पक्ष स्रोतबाट सूचना र सल्लाह लिनुपर्नेमा समेत बैंकले जोड दिएको छ।
राष्ट्र बैंकले सक्षम उद्यमीलाई दिगो रोजगारी सिर्जना, नवप्रवर्तन र आय विस्तारको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेको छ।













