२ भदौ २०८३, मंगलबार

नेपाल आइपुग्यो डोङफेङ एमहिरो, नाडा अटो शोमा सार्वजनिक हुने



काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय एसयूभी एम हिरो नेपालमा भित्रिएको छ। नेपाली बजारमा यो गाडी एमएडब्लू वृद्धिले ल्याएको हो। काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ९ गतेदेखि आयोजना हुने १८औँ नाडा अटो शो २०२६ मा एम हिरो सार्वजनिक गर्ने तयारी गरिएको छ।

कठिन भूभागमा समेत सहज रूपमा चलाउन सकिने दाबी गरिएको यो एसयूभीमा चारवटा शक्तिशाली विद्युतीय मोटर जडान गरिएको छ। चारवटै मोटरले संयुक्त रूपमा अधिकतम ८०० किलोवाट पावर उत्पादन गर्छन्। करिब ३.५ टन तौल रहेको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमै लिन सक्ने बताइएको छ।

एम हिरोमा १४२.७ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। एकपटक पूर्ण चार्ज गर्दा यसले ४५० किलोमिटरसम्म यात्रा गर्न सक्ने र यसको रेन्ज डब्लूएलटीपी परीक्षणबाट मापन गरिएको बताइएको छ। कठिन बाटोमा चलाउनका लागि यसमा विभिन्न अफरोड मोड पनि उपलब्ध छन्। बालुवा, चट्टान, हिलो तथा पानीयुक्त भूभागका लागि छुट्टाछुट्टै मोड दिइएको छ।

डिजाइनतर्फ एम हिरोमा ठूलो स्क्रिनसहितको ड्यासबोर्ड, थ्री स्पोक स्टेयरिङ तथा विशेष डिजाइनका डोर ह्यान्डल दिइएको छ। यसको भित्री सजावटलाई विलासी र आधुनिक बनाइएको छ।

नेपाली बजारमा एम हिरोको मूल्य भने हालसम्म सार्वजनिक गरिएको छैन। नाडा अटो शोमा सार्वजनिक भएपछि यसको नेपाली बजार मूल्यसहित थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ। शक्तिशाली विद्युतीय एसयूभी एम हिरोको नेपाली बजारमा मूल्य कति पर्ला भन्ने विषयमा अहिले अटो पारखीहरुको चासो बढेको छ।