केवाईसी अपडेट गरिदिने भन्दै ओटीपी लिएर ठगी गर्ने चार जना पक्राउ
काठमाडौं। बैंकका कर्मचारी भएको बहाना बनाएर ग्राहकबाट ओटीपी (वन टाइम पासवर्ड) लिएर रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले बैंकिङ विवरणको दुरुपयोग गरी ठगी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाराको देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई निशाना बनाएर ठगी गर्ने समूह सञ्चालन गर्दै आएका थिए। उनीहरूले बैंकिङ सेवासँग सम्बन्धित समस्या समाधान गरिदिने भन्दै पीडितलाई सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरूले फोन तथा ह्वाट्सएपमार्फत ‘बैंकबाट फोन गरेको’ भन्दै केवाईसी अपडेट गर्नुपर्ने बताउने गरेका थिए। त्यस क्रममा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाएर ओटीपी कोड प्राप्त गर्ने र त्यसपछि सम्बन्धित व्यक्तिको बैंक खातामा पहुँच बनाई रकम अन्य खातामा स्थानान्तरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
साइबर ब्युरोले बैंक वा कुनै वित्तीय संस्थाले फोनमार्फत ओटीपी, पासवर्ड वा अन्य संवेदनशील विवरण माग नगर्ने भएकाले यस्ता कल तथा सन्देशबाट सावधान रहन आग्रह गरेको छ।
पक्राउ परेकाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।













