ग्लोकल टिन हिरो नेपाल २०२६ को शीर्ष छ फाइनलिस्ट घोषणा, दक्षिण एसियाली संस्करणमा पनि प्रतिस्पर्धा हुने
ग्लोकल टिन हिरो नेपाल २०२६ को शीर्ष छ फाइनलिस्ट घोषणा, छनोटमा परे सातै प्रदेशका प्रेरणादायी युवा ।
काठमाडाैँ । ग्लोकल प्राइभेट लिमिटेडले गोल्छा ग्रुपको प्रस्तुति रहेको ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का लागि शीर्ष छ फाइनलिस्टको नाम सार्वजनिक गरेको छ। नेपालमा असाधारण किशोरकिशोरीहरूलाई पहिचान गरी सम्मान गर्ने यो एक मात्र राष्ट्रिय मञ्च हो।
यस वर्षको प्रतिस्पर्धाका लागि देशका सातै प्रदेशबाट ७९१ वटा आवेदन प्राप्त भएका थिए। जसमा बागमती प्रदेशबाट सर्वाधिक २६.२७ प्रतिशत, कोशी प्रदेशबाट २०.३४ प्रतिशत र मधेस प्रदेशबाट १९.४९ प्रतिशत आवेदन परेका थिए। कूल आवेदकहरूमध्ये ६६.९५ प्रतिशत पुरुष र ३३.०५ प्रतिशत महिला रहेका छन्।
उनीहरूको युवा सशक्तीकरण तथा नेतृत्व, शिक्षा तथा सीप विकास, वातावरण तथा जलवायु कार्य, समुदाय विकास, प्रविधि तथा नवप्रवर्तन, लैङ्गिक समानता, स्वास्थ्य र नागरिक सहभागिताजस्ता क्षेत्रमा सक्रियता रहेको छ।
सन् २०१५ मा काठमाडौँ उपत्यकाबाट सुरु भएको यो कार्यक्रम बाह्र वर्षको अवधिमा नेपालभरका असाधारण युवा परिवर्तनकर्ताहरूलाई चिन्न सक्ने विश्वसनीय मञ्च बनिसकेको छ। यस वर्ष भने यस कार्यक्रमले आफ्नो अहिलेसम्मकै ठूलो रूपान्तरण पार गरेको छ।
गोल्छा ग्रुपको प्रस्तुतिमा ‘ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६’ को आरम्भसँगै यसको दायरालाई नेपालभन्दा बाहिर भारत, भुटान, श्रीलंका र बंगलादेशसम्म विस्तार गरिएको छ। पाँच राष्ट्र र एक मञ्चको यो अवधारणाले अब सिमानाभन्दा पारि रहेका युवा नेताहरूलाई जोड्दै प्राज्ञिक योग्यताभन्दा बाहिरको नेतृत्व, नवप्रवर्तन र सामाजिक प्रभावलाई सम्मान गर्ने साझा क्षेत्रीय प्रतिबद्धता झल्काएको छ।
अन्तिम चरणमा पुग्ने प्रतिभा
यस वर्षको ग्लोकल टिन हिरो नेपाल २०२६ को शीर्ष छ फाइनलिस्टहरूमा विराटनगर, कोशी प्रदेशका १५ वर्षीय स्टेम तथा प्रविधि नवप्रवर्तक (साइबर सुरक्षा) आर्जन चौधरी छानिएका छन् । सुदूरपश्चिम प्रदेशबाट अछामका १९ वर्षीय अटल देव ढकाल छनाेटमा परेका छन् । उनी जलवायु तथा वातावरण अभियन्ता हुन् ।
गण्डकी प्रदेशबाट पोखराकी १८ वर्षीया स्टेम तथा प्रविधि नवप्रवर्तक जिसरा बोहरा र कर्णाली प्रदेशबाट सुर्खेतका १७ वर्षीय जलवायु तथा वातावरण कार्यकर्ता किशोर न्यौपाने छनाेट भएका छन् । मधेस प्रदेशबाट महोत्तरी बर्दिवासका १७ वर्षीय मन्जिल बस्नेत नागरिक सहभागिता तथा सुशासन नवप्रवर्तकका रूपमा छानिएका छन् भने गण्डकी प्रदेश अन्तरर्गतकै नवलपुरकी १९ वर्षीया सबनम सुनार लैङ्गिक तथा सामाजिक न्याय प्रवर्द्धक रहेकी छन्।
उनीहरूलाइ शीर्ष २० किशोरकिशोरीहरू (ग्लोकलको २० अन्डर २० का) मध्येबाट कागजात समीक्षा, उनीहरूको पहल, उपलब्धि र कामको प्रभावका आधारमा ग्लोकल टिन हिरो नेपालको अन्तिम चरणका लागि यी छ जनालाई छोटो सूचीमा पारिएको हो।
कोका-कोला बेभरेज नेपालका सार्वजनिक मामिला, सञ्चार तथा दिगोपन निर्देशक स्नेह राजभण्डारी, अग्रणी ब्रान्डहरू केएफसी र पिज्जा हटका कन्ट्री म्यानेजर विजय शर्मा र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जू जियान रहेको ३ सदस्यीय सम्मानित निर्णायक मण्डलले १३ देखि १९ वर्ष उमेर समूहका यी ६ प्रतिभावान किशोरकिशोरीहरूलाई छनोट गरेको हो।
उनीहरूलाई सिर्जनात्मकता, उपलब्धि, प्रभाव र विशेष गरी उनीहरूको कामको दिगोपनका आधारमा मूल्याङ्कन गरिएको थियो।
कार्यशाला र मतदान प्रक्रिया
शीर्ष छ फाइनलिस्टहरूले आगामी अगस्ट २७ देखि अगस्ट ३१ सम्म हुने स्व-योग्यता कार्यशालामा भाग लिनेछन्। सो अवसरमा उनीहरूले विभिन्न कर्पोरेट हाउस र ग्लोकलका साझेदार संस्थाहरूको भ्रमण गर्ने, उद्योगका पेसाकर्मीहरूसँग अन्तरक्रिया गर्ने तथा आफ्नो ज्ञान र नेटवर्क विस्तारका लागि व्यावहारिक अनुभव प्राप्त गर्नेछन्।
निर्णायक मण्डलले आगामी अगस्ट ३१ मा फाइनलिस्टहरूसँग व्यक्तिगत अन्तर्वार्ता लिनेछ। यसका साथै, विजेता छनोटका लागि अगस्ट १८ को साँझ ५ बजेदेखि अगस्ट ३० को साँझ ५ बजेसम्म एसएमएस मतदान खुला गरिएको छ, जसले दक्षिण एसियाली ग्लोकल टिन हिरो नेपाल २०२६ को विजेता तय गर्न सहयोग पुर्याउनेछ।
मनपर्ने उम्मेदवारलाई भोट दिनका लागि ३५००१ मा आफ्नो मनपर्ने फाइनलिस्टको भोटिङ कोड पठाउन सकिनेछ। जसअनुसार आर्जन चौधरीका लागि GTH2026 AC, अटल देव ढकालका लागि GTH2026 AD, जिसरा बोहराका लागि GTH2026 JB, किशोर न्यौपानेका लागि GTH2026 KN, मन्जिल बस्नेतका लागि GTH2026 MB र सबनम सुनारका लागि GTH2026 SS टाइप गरी ३५००१ मा एसएमएस पठाउन सकिनेछ।
दक्षिण एसियाली महासमारोह
शीर्ष छ फाइनलिस्टहरूले गोल्छा ग्रुप पेजेन्ट्स ग्लोकल टिन हिरो नेपाल २०२६ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् भने मुख्य विजेताको घोषणा आगामी १६ भदाै (सेप्टेम्बर १) मा हुने विशेष ग्रान्ड फिनालेमा गरिनेछ। नेपाल, भारत, भुटान, श्रीलंका र बंगलादेशका राष्ट्रिय विजेताहरूसँगै यी छ वटै फाइनलिस्टहरूलाई पनि सोही समारोहमा सम्मानित गरिनेछ।
सोही दिन अर्थात् सेप्टेम्बर १, २०२६ मा ललितपुरको द प्लाजा मा ‘गोल्छा ग्रुप पेजेन्ट्स दक्षिण एसियाली ग्लोकल टिन हिरो २०२६’ को भव्य समापन समारोह हुनेछ। यस प्रतिष्ठित कार्यक्रममा नेपाल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, कूटनीतिज्ञ, राजनीतिज्ञ, प्राज्ञ, उद्यमी, युवा नेता र सेलिब्रेटीहरूको सहभागिता रहनेछ।
पहिलो पटक दक्षिण एसियाली ग्लोकल टिन हिरोको ताज पहिर्याइने यस ऐतिहासिक पलले युवा परिवर्तनकर्ताहरूको उपलब्धि, नेतृत्व र प्रभावलाई उत्सवका रूपमा मनाउनेछ।
ग्लोकल प्राइभेट लिमिटेडको पहल र गोल्छा ग्रुपको मुख्य साझेदारी रहेको यस कार्यक्रमलाई सफल बनाउन काठमाडौँस्थित भारतीय राजदूतावास, काठमाडौँस्थित संयुक्त अरब इमिरेट्सको राजदूतावास, युएनएफपिए, प्लान इन्टरनेसनल, कोइइका, युनियन वुमन र शैक्षिक साझेदारका रूपमा एम्बार्क कलेजले रणनीतिक सहकार्य गरेका छन्।
यसैगरी, होन्डा, कोका-कोला, पञ्चकन्या ग्रुप, केएफसी, टोयोटा, बायोस्फियर ग्लोबल, नबिल बैंक, कान्तिपुर, द काठमाडौँ पोस्ट, वल्र्डलिंक, द प्लाजा, नेपाल-पे, सांग्रिला ब्लु होटल, यती एयरलाइन्स, पिज्जा हट, न्युट्रीप्लस, प्रिस्मा एड्भर्टाइजिङ र इको नेटवर्कको पनि सहकार्य रहेको छ।













