बेटिङ र क्रिप्टोको जालो भत्काउँदै नेपाल प्रहरी, डिजिटल अनुगमनदेखि बैंकिङ कारोबारसम्म निगरानी
काठमाडौं। नेपालमा अनलाइन बेटिङ र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिहरूमाथि नेपाल प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ। प्रविधिको बढ्दो पहुँचसँगै यस्ता गतिविधि साइबर अपराध, ठगी तथा हुण्डी कारोबारसँग समेत जोडिन थालेपछि प्रहरीले डिजिटल तथा वित्तीय कारोबारमा निगरानी बढाएको हो।
पछिल्लो समय क्रिप्टोकरेन्सी कारोबारमा संलग्न विदेशी नागरिकसमेत पक्राउ परेका छन्। चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङलाई १७ करोड ७९ लाख रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा गत चैत १९ गते काठमाडौंको ठमेलबाट पक्राउ गरिएको थियो।
क्रिप्टोकरेन्सी कारोबारमै ३० लाख ४९ हजार ७ सय ३६ रुपैयाँ बराबरको कारोबार गरेको आरोपमा बंगलादेशी नागरिक २९ वर्षीय एमडी सेहाबुल इस्लाम चैत ११ गते पक्राउ परेका थिए।
त्यस्तै, क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंका सागर गिरी र प्रमोद प्रसाद धिताल पनि चैत २ गते पक्राउ परेका थिए।
सयौँको सँख्यामा पक्राउ
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा अनलाइन बेटिङमा संलग्न भएका मात्रै गरि ४८ जना पक्राउ परेका छन्। तीमध्ये २६ जना विदेशी र २२ जना नेपाली नागरिक छन्। आर्थिक वर्ष २०८१/०८२ मा ९३ विदेशी नागरिकसहित १४८ जना तथा २०८०/०८१ मा १३ विदेशी नागरिकसहित ६२ जना अनलाइन बेटिङमा पक्राउ परेका थिए।
क्रिप्टोकरेन्सीतर्फ आर्थिक वर्ष २०८२/०८३ मा ४२ जना पक्राउ परेका छन्, जसमा ७ विदेशी र ३५ नेपाली नागरिक छन्। यसअघि २०८१/०८२ मा ४५ विदेशी नागरिकसहित ११७ जना, र २०८०/०८१ मा ५ विदेशी नागरिकसहित १० जना पक्राउ परेका थिए।

डिजिटल अनुगमनदेखि बैंकिङ कारोबारसम्म निगरानी
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार प्रहरीले बेटिङ नेटवर्क तथा क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणका लागि सूचना संकलन, गोप्य निगरानी, डिजिटल अनुगमन तथा बैंकिङ र डिजिटल वालेटमार्फत हुने कारोबारको निगरानीलाई विशेष प्राथमिकता दिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले भने ‘प्रहरीले यस्ता अनलाईन बेटिङ नेटवर्कहरू एवम् क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण गर्नको लागि सूचना संकलन र निगरानीलाई विशेष प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । सट्टाबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिहरूको बारेमा गोप्य सूचना संकलन, अनलाईन सट्टाबाजी (विशेष गरी खेलकुद बेटिङ) मा संलग्न नेटवर्कको डिजिटल निगरानी एवम् बैंकिङ तथा डिजिटल वालेट मार्फत हुने कारोबारको निगरानीमा समेत प्रहरीले थप संवेदनशील भई कार्य गर्दै आइरहेको छ ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेका बेला अनलाइन बेटिङ प्लेटफर्महरू थप सक्रिय हुने गरेको प्रहरीको निष्कर्ष छ। प्रहरीका अनुसार अनलाइन बेटिङ सामाजिक सञ्जालमार्फत हुने ‘ग्रोमिङ’, ठगी र हुण्डी कारोबारसँग समेत जोडिने गरेको छ। प्रहरीले अनलाइन बेटिङ र क्रिप्टोकरेन्सी कारोबारलाई प्रविधिको सामान्य प्रयोगका रूपमा मात्र नभई सम्भावित आर्थिक अपराध, साइबर अपराध र अवैध वित्तीय कारोबारसँग जोडिएको जोखिमका रूपमा हेर्दै निगरानी बढाएको जनाएको हो।













