वर्षायामको बिजुली सस्तो बनाउने सरकारकाे तयारी तीव्र, उद्योगले पनि सहुलियत पाउने
काठमाडौं । सरकारले बिजुलीको महसुल घटाएर विद्युत् खपत बढाउने तयारी अघि बढाएको छ । वर्षायाममा उत्पादन बढेर विद्युत् खेर जाने अवस्था दोहोरिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गरी महसुल पुनरावलोकनको गृहकार्य थालेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकनका लागि समिति गठन गरिएको थियो । प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक बुधबार अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दैछ । बैठकमा महसुल घटाउने सम्भावित उपाय र त्यसबाट विद्युत् खपत बढाउन सकिने विषयमा छलफल हुने बताइएको छ ।
समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधिसहित नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य छन् । समितिले विशेषगरी वर्षायाममा खेर जाने विद्युत्लाई आन्तरिक बजारमै अधिकतम उपयोग गर्ने गरी महसुल संरचना परिवर्तनका विकल्पमाथि छलफल गरिरहेको छ ।
संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्दा मागअनुसार खपत हुन नसकेर ठूलो परिमाणमा बिजुली खेर जाने गरेको छ । यस्तो अवस्थामा प्राधिकरणले नियमित आम्दानी गुमाउनुका साथै मासिक रूपमा नोक्सानीसमेत व्यहोर्नुपरेको छ । त्यसलाई सम्बोधन गर्न ‘सिजनल ट्यारिफ’ अर्थात् मौसमअनुसार फरक महसुल दर लागू गर्ने अवधारणामाथि काम भइरहेको उनले बताए ।
यस्तो व्यवस्था लागू भए वर्षायाममा तुलनात्मक रूपमा सस्तो दरमा बिजुली उपलब्ध गराएर घरायसी तथा अन्य उपभोक्ताको खपत बढाउने लक्ष्य राखिएको छ ।
त्यस्तै, उद्योगलाई समेत सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तयारी छ । सस्तो बिजुलीका कारण उद्योगको उत्पादन लागत घटेपछि त्यसको लाभ उपभोक्तासम्म कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा समेत सम्बन्धित पक्षसँग समन्वय भइरहेको जनाइएको छ ।













