३ भदौ २०८३, बुधबार

नाडा अटो शोमा धमाका मचाउन नेपाल आइपुग्यो ६६५ किमी रेन्ज दिने टाटा सिएरा ईभी, के-के छन् खास फिचर?



काठमाडौं । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै सिएरा ईभी नेपाल भित्र्याएको हो।

आकर्षक डिजाइन, लामो रेन्ज, दमदार प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण यो एसयूभी नाडा अटो शोको मुख्य आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ। नेपाली बजारमा सार्वजनिक हुनुअघि नै सिएरा ईभीले नाडामा धमाका गर्ने तयारी गरेको छ।

भारतमा गत जुन ३० मा सार्वजनिक गरिएको सिएरा ईभी टाटाको नयाँ पुस्ताको विद्युतीय एसयूभी हो। भारतीय बजारमा यसको बुकिङ पनि जुन ३० बाटै सुरु भएको थियो भने जुलाई १५ देखि ग्राहकलाई डेलिभरी दिन थालिएको हो। भारतमा यसको सुरुआती मूल्य १८ लाख ७९ हजार भारतीय रुपैयाँ तोकिएको छ। नेपालमा भने सिएरा ईभीको मूल्य र बिक्री सुरु हुने मिति सिप्रदीले औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी छ।

सिएरा ईभी भारतीय बजारमा प्योर, प्योर एस, एडभेन्चर, एम्पावर र एम्पावर ए लगायत ७ वटा भेरियन्टमा उपलब्ध छ। ग्राहकले यसमा ६३ किलोवाट–आवर र ७५ किलोवाट–आवर क्षमताका दुई ब्याट्री प्याकमध्ये छनोट गर्न पाउँछन्। कम्पनीका अनुसार ७५ किलोवाट–आवर ब्याट्री भएको संस्करणले एकपटक पूर्ण चार्ज गर्दा ६६५ किलोमिटरसम्म रेन्ज दिन्छ। फास्ट चार्जिङ प्रयोग गर्दा १५ मिनेटमै २६३ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ। टाटाले ब्याट्रीमा लाइफटाइम वारेन्टीको सुविधा पनि दिएको छ।

प्रिमियम एसयूभीको पहिचान दिने गरी सिएरा ईभीको बाहिरी डिजाइन तयार गरिएको छ। अगाडि र पछाडि कनेक्टिङ एलईडी बारसहितका एलईडी लाइट, फराकिलो बडी र १९ इन्चका अलोय ह्विलले यसको लुकलाई थप आकर्षक बनाएका छन्। टाटाले पुरानो सिएराको बक्सी डिजाइनलाई आधुनिक विद्युतीय स्वरूपसँग जोड्दै नयाँ पुस्ताका ग्राहकलाई लक्षित गरेको देखिन्छ।

भित्र पस्दा पनि सिएरा ईभीले प्रिमियम अनुभव दिने प्रयास गरेको छ। लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड कार फिचर, हाइपर हेड्स-अप डिस्प्ले र वायरलेस मोबाइल चार्जरसहितका सुविधा यसमा छन्। मनोरञ्जनका लागि १२ स्पिकर भएको जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधि दिइएको छ।

सुरक्षामा पनि सिएरा ईभीलाई टाटाले निकै अगाडि राखेको छ। यसमा ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड र लेभल–२ एडीएएससहित विभिन्न सुरक्षा प्रविधि छन्। गाडीमा बुस्ट मोड र रिल्याक्स मोडसहित कुल ६ वटा ड्राइभिङ मोड उपलब्ध छन्।

प्रदर्शनका हिसाबले सिएरा ईभीको फोर ह्विल ड्राइभ संस्करण अझै आकर्षक छ। डुअल मोटरयुक्त यो भेरियन्टले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्छ र शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ५.८ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ। यसमा फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सन प्रयोग गरिएको छ, जसले फरक सडकमा आरामदायी ड्राइभिङ अनुभव दिने अपेक्षा गरिएको छ।

व्यवहारिकताका हिसाबले पनि सिएरा ईभीमा पर्याप्त स्पेस दिइएको छ। यसमा ६२२ लिटर क्षमताको पछाडिको बुट स्पेस छ भने अगाडि ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज उपलब्ध छ। यसले परिवारका लागि दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्मलाई लक्षित गरेको देखिन्छ।

भारतीय बजारमा सिएरा ईभीले महिन्द्रा एक्सईभी ९ई, महिन्द्रा बीई ६, एमजी जेडएस ईभी, एमजी विन्डसर ईभी, हुन्डाई क्रेटा इलेक्ट्रिक र भिनफास्ट भीएफ ७ जस्ता विद्युतीय एसयूभीसँग प्रतिस्पर्धा गरिरहेको छ। अब नेपालमा पनि यसको आगमनसँगै प्रिमियम विद्युतीय एसयूभीको प्रतिस्पर्धामा नयाँ नाम थपिएको छ।

सिप्रदीले नाडा अटो शोमा सिएरा ईभीलाई नेपाली ग्राहकसामु प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने तयारी गरेसँगै यसको चर्चा थप चुलिएको छ। लामो रेन्ज, प्रिमियम डिजाइन, दमदार प्रदर्शन र आधुनिक फिचरको संयोजनले सिएरा ईभीलाई नाडाको आकर्षणको केन्द्र बनाउन सक्ने देखिन्छ। अब नेपाली बजारमा यसको मूल्य कति तोकिन्छ र कुन भेरियन्ट उपलब्ध गराइन्छ भन्ने विषयले यसको वास्तविक प्रतिस्पर्धात्मक क्षमता निर्धारण गर्नेछ।