निष्क्रिय कर्जामा सुधार आएपछि लघुवित्त क्षेत्रको नाफामा उछाल
काठमाडौँ। विगत केही वर्षयता नेपालको लघुवित्त क्षेत्र चौतर्फी संकटबाट गुज्रिरहेको थियो। एकातिर समग्र आर्थिक मन्दीका कारण साना उद्यमी तथा ग्रामीण ऋणीको आम्दानी घटेर भुक्तानी क्षमतामा ठूलो धक्का पुगेको थियो भने अर्कोतिर लघुवित्त विरुद्ध भएका आन्दोलन र कर्जा नतिर्ने अभियानले असुली प्रक्रिया नराम्ररी प्रभावित गरेको थियो। उच्च खराब कर्जा र त्यसबापत गर्नुपर्ने नोक्सानी व्यवस्थाले अधिकांश संस्थाको नाफा नकारात्मक वा निकै न्यून विन्दुमा झरेको थियो।
तर, परिस्थिति सुधार्न नेपाल राष्ट्र बैंकले ल्याएको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको लचिलो नीति, संस्थाहरूले असुलीमा दिएको प्राथमिकता, ऋण नतिर्न उक्साउनेहरुका गतिविधी केही शान्त भएपछि चालू आर्थिक वर्ष २०८२/८३ मा लघुवित्त क्षेत्र पुनरुत्थानको बाटोमा देखिएको छ।
लघुवित्त क्षेत्रको नाफामा १५३ प्रतिशतको उछाल
आर्थिक वर्ष २०८२/०८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५० वटा लघुवित्त वित्तीय संस्थाको समग्र खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार यी ५० संस्थाले चालू आर्थिक वर्षमा कुल १२ अर्ब २ करोड ४३ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा लघुवित्त क्षेत्रको कुल खुद नाफा ४ अर्ब ७५ करोड ६ लाख ७३ हजार रुपैयाँ थियो। यस आधारमा एक वर्षको अवधिमा लघुवित्त क्षेत्रको खुद नाफा ७ अर्ब २७ करोड ३६ लाख ३६ हजार रुपैयाँले बढेको देखिन्छ।
प्रतिशतका आधारमा हेर्दा समग्र नाफा वृद्धि १५३.११ प्रतिशत पुगेको छ। लामो समयदेखि खराब कर्जा, ऋणीको भुक्तानी क्षमता र सञ्चालनसम्बन्धी चुनौती झेल्दै आएका लघुवित्त संस्थाका लागि यो सुधारलाई वित्तीय अवस्था क्रमशः सामान्य बन्दै गएको संकेतका रूपमा लिन सकिन्छ।
अघिल्लो आर्थिक वर्षमा ३० प्रतिशत रहेको लघुवित्त क्षेत्रको समग्र निष्क्रिय कर्जा गत आव २०८२/८३ को असार मसान्तसम्ममा घटेर ११ दशमलव २२ प्रतिशतमा झरेको छ, जसले गर्दा नाफामा उछाल आएको हो ।
पुनर्संरचनापछि ऋणीलाई राहत, संस्थाको खराब कर्जामा पनि दबाब घट्यो
लघुवित्त संस्थाको वित्तीय अवस्थामा आएको सुधारको एउटा प्रमुख आधार ऋण पुनर्संरचना तथा पुनर्तालिकीकरणसँग जोडिएको देखिन्छ। आर्थिक दबाबमा रहेका ऋणीलाई कर्जा भुक्तानीका लागि थप समय र सहज व्यवस्था उपलब्ध हुँदा तत्काल किस्ता तिर्न नसक्ने ऋणीलाई राहत पुगेको छ।
यसको प्रभाव लघुवित्त संस्थाको निष्क्रिय कर्जामा समेत देखिएको छ। विभिन्न संस्थाले सार्वजनिक गरेका विवरणमा खराब कर्जा अनुपात अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। खराब कर्जा घट्दा सम्भावित जोखिमका लागि गर्नुपर्ने व्यवस्थापन खर्चमा दबाब कम हुनुका साथै नाफामा सकारात्मक प्रभाव परेको छ।
यद्यपि सबै संस्थाको अवस्था समान छैन। केही लघुवित्तको खराब कर्जा अझै उच्च रहेको छ भने कतिपय संस्थामा नाफा बढे पनि खराब कर्जा अनुपात उल्टै माथि गएको छ। त्यसैले समग्र क्षेत्रको नाफा वृद्धि भएको तथ्यलाई मात्र आधार बनाएर सबै लघुवित्त वित्तीय रूपमा समान रूपमा बलियो भएको निष्कर्ष निकाल्न भने सकिँदैन।
नाफामा छिमेक अग्रस्थानमा, जीवन विकास दोस्रो र डिप्रोक्स तेस्रो
नाफाको आकारका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था अग्रस्थानमा देखिएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब २९ करोड ८० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको १ अर्ब २१ करोड २८ लाख ७४ हजार रुपैयाँको तुलनामा कम्पनीको नाफा ७.०२ प्रतिशतले बढेको हो।
छिमेकको खराब कर्जा अनुपात पनि सुधार भएको छ। अघिल्लो वर्ष २.५५ प्रतिशत रहेको खराब कर्जा अनुपात चालू आर्थिक वर्षमा घटेर २.३० प्रतिशतमा आएको छ।
नाफाका आधारमा दोस्रो स्थानमा जीवन विकास लघुवित्त रहेको छ। कम्पनीले १ अर्ब ८ करोड २२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ७० करोड ६४ लाख २९ हजार रुपैयाँ रहेको नाफा यस वर्ष ५३.२० प्रतिशतले बढेको हो। जीवन विकासको खराब कर्जा अनुपात पनि ६.६५ प्रतिशतबाट घटेर ५.३३ प्रतिशतमा आएको छ।
नाफाका आधारमा तेस्रो स्थानमा रहेको डिप्रोक्स लघुवित्तले ९८ करोड ९४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाउँदै तेस्रो स्थान कायम गरेको छ। अघिल्लो वर्ष ५७ करोड ६८ लाख ६१ हजार रुपैयाँ रहेको नाफा ७१.५२ प्रतिशतले बढेको हो। कम्पनीको खराब कर्जा अनुपात भने ११.३० प्रतिशतबाट घटेर ६.४९ प्रतिशतमा झरेको छ।
घाटाबाट नाफामा फर्किएका संस्थाले देखाए ठूलो सुधार
लघुवित्त क्षेत्रको नाफा वृद्धिमा केही संस्थाको घाटाबाट नाफामा फर्किनुले पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। फर्वार्ड माइक्रोफाइनान्स यसको एउटा उदाहरण बनेको छ। अघिल्लो वर्ष ३६ करोड ४६ लाख ४४ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा ६२ करोड ३५ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
फर्वार्डको खराब कर्जा अनुपातसमेत १९.८६ प्रतिशतबाट घटेर १६.१७ प्रतिशतमा आएको छ। खराब कर्जा अझै उच्च रहे पनि अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ।
यस्तै, स्वावलम्बन लघुवित्तले ६१ करोड ९७ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ४१ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको नाफा यस वर्ष ५०.६० प्रतिशतले बढेको हो। कम्पनीको खराब कर्जा अनुपात ९.४९ प्रतिशतबाट घटेर ८.९२ प्रतिशतमा आएको छ।
ग्लोबल आईएमई लघुवित्तको नाफा वृद्धिदर भने असाधारण देखिएको छ। कम्पनीले यस वर्ष ४० करोड ११ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ७ करोड ४९ लाख २६ हजार रुपैयाँ मात्र नाफा गरेको कम्पनीको नाफा ४३५.३३ प्रतिशतले बढेको हो। खराब कर्जा अनुपात पनि १०.१६ प्रतिशतबाट घटेर ८.७० प्रतिशतमा आएको छ।
वित्तीय सूचकहरूमा देखिएको यो पछिल्लो फड्कोले लघुवित्त क्षेत्र ठूलो संकटबाट बाहिर निस्कँदै गरेको चित्र देखाएको छ। तर, अंकमा नाफा बढ्दैमा समग्र क्षेत्र जोखिममुक्त भइसकेको मान्न सकिँदैन।
विशेषगरी नीतिगत लचकता र पुनर्संरचनाका कारण तत्कालका लागि असुली सहज देखिए पनि ऋणीहरूको वास्तविक व्यावसायिक क्षमता र आम्दानीको दिगोपना परीक्षण हुन अझै बाँकी नै छ।
आगामी दिनमा यो सुधारलाई निरन्तरता दिन लघुवित्त संस्थाहरूले आक्रामक कर्जा विस्तारभन्दा पनि कर्जाको गुणस्तर, प्रभावकारी जोखिम व्यवस्थापन र ग्राहकसँगको वित्तीय सम्बन्ध सुदृढ बनाउनेतर्फ ध्यान दिनु आवश्यक देखिन्छ।
नियामक निकायको सूक्ष्म निगरानी, अनुशासित कर्जा प्रवाह र ऋणीको वास्तविक आर्थिक पुनरुत्थानले नै यो सुधारलाई दिगो बनाउनेछ।













