४ भदौ २०८३, बिहिबार

साउनमा ब्रोकरहरूको कमिसन आम्दानी ४१ करोड नाघ्यो, लगानीकर्ता घाटामा गए पनि ब्राेकर ‘मालामाल’ !



काठमाडाैँ । लामाे समयदेिख शेयर बजार उकालाे लाग्न नसकेकाे र नयाँ सरकार बनेपछि त झनै माहाेल विग्रीएकाे बेलामा समेत ब्राेकर (शेयर दलाल) कम्पनीहरू भने मालामाल भएका छन् । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूको आम्दानीमा उल्लेख्य सुधार आएको विवरणा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेकाे छ ।

नेप्सेका अनुसार गत साउन महिनामा सञ्चालनमा रहेका ९१ वटा ब्रोकर कम्पनीहरूले कुल ४१ करोड २७ लाख ३६ हजार रुपैयाँ कमिसन बापत आर्जन गरेका छन्। अघिल्लो महिना असारको तुलनामा यो आम्दानीमा करिब सात प्रतिशतभन्दा बढीको वृद्धि हो।

असार महिनामा यी ब्रोकरहरूले कुल ३८ करोड ५१ लाख ३० हजार रुपैयाँ मात्र कमिसनबापत उठाएका थिए। कारोबार रकममा आएको वृद्धिका कारण ब्रोकरहरूको यो आम्दानी साढे दुई करोड रुपैयाँभन्दा बढीले बढेको हो।

मासिक ४ कराेड कमाउँदै नासा

नेप्सेको तथ्याङ्कले साउन महिनामा सबैभन्दा धेरै कमिसन उठाउने ब्रोकरहरूको नाम बाहिर ल्याएको छ। यसक्रममा नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ५८) ले सबैभन्दा धेरै ३ करोड ८२ लाख २४ हजार रुपैयाँ कमिसन आर्जन गरेर पहिलो स्थान ओगट्न सफल भएको छ।

यसैगरी, सानी सेक्युरिटिज (ब्रोकर नम्बर ४२) ले १ करोड ४० लाख ३८ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिज (ब्रोकर नम्बर ४५) ले १ करोड ३२ लाख ४८ हजार रुपैयाँ, भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) ले १ करोड ३२ लाख १३ हजार रुपैयाँ र अनलाइन सेक्युरिटिज (ब्रोकर नम्बर ४९) ले १ करोड ३१ लाख ४६ हजार रुपैयाँ कमिसन भित्र्याएका छन्।

यसैगरी, त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नम्बर ४८) ले १ करोड २१ लाख २२ हजार रुपैयाँ, दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नम्बर ३८) ले १ करोड ३ लाख ४२ हजार रुपैयाँ, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नम्बर ४४) ले १ करोड २ लाख ९ हजार रुपैयाँ र आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नम्बर ५७) ले १ करोड ११ हजार रुपैयाँ कमिसन संकलन गरेका छन्।

मध्यम र साना कारोबार गर्ने अन्य ब्रोकरहरूले पनि आफ्नो कार्यसम्पादन अनुसार लाखौँ रुपैयाँ कमिसन आर्जन गर्न सफल भएका छन्।

१००० पनि नकमाउने प्रतिस्पर्धी ?

एकातर्फ ठूला ब्रोकर कम्पनीहरूको आम्दानी करोडौँमा पुग्दा अर्कातर्फ केही ब्रोकर कम्पनीहरूको कमिसन आम्दानी भने अत्यन्तै न्यून देखिएको छ। नेप्सेको विवरण अनुसार साउन महिनामा सबैभन्दा कम कमिसन आर्जन गर्ने ब्रोकरमा मनि वर्ल्ड सेयर एक्सचेन्ज (ब्रोकर नम्बर ७३) रहेको छ। यो कम्पनीले साउन महिनामा जम्मा ७०५ रुपैयाँ मात्र कमिसन बापत प्राप्त गरेको छ।

त्यसैगरी, पाहि इन्भेस्टमेन्ट (ब्रोकर नम्बर ७९) ले ६२ हजार ३०९ रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नम्बर ७८) ले ४ लाख ९ हजार रुपैयाँ, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नम्बर ९८) ले ५ लाख रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नम्बर ९३) ले ५ लाख ८१ हजार रुपैयाँ र सजिलो ब्रोकर (ब्रोकर नम्बर ९०) ले ६ लाख ८८ हजार रुपैयाँ मात्र कमिसन उठाएका छन्।

समग्रमा बजारको प्रवृत्ति र लगानीकर्ताको सक्रियता अनुसार ब्रोकर कम्पनीहरूको आम्दानीमा व्यापक भिन्नता देखिएको छ।