एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन र ‘रियल-टाइम’ ट्र्याकिङ प्रणाली सुरु
काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।
नयाँ डिजिटल पोर्टल (digi.nmb.com.np) मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा उपकरणबाट सजिलै कर्जाका लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ‘रियल-टाइम’ मा ट्र्याक गर्न सक्नेछन्।
कसरी दिने अनलाइन कर्जा आवेदन ?
ग्राहकले एनएमबी बैंकको डिजिटल पोर्टल digi.nmb.com.np मा गएर ‘लोन सर्भिसेज’ छनोट गर्नुपर्नेछ। त्यसपछि ‘एक्सप्लोर प्रडक्ट्स’ मा क्लिक गरी आफूले लिन चाहेको कर्जा छनोट गर्न सकिनेछ।
कर्जा छनोट गरेपछि आवश्यक विवरण भरेर आवेदन बुझाउनुपर्नेछ। फारम बुझाएलगत्तै ग्राहकले युनिक अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन्।
त्यसपछि उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने बैंकले जनाएको छ।
शाखा धाउनुपर्ने बाध्यता घट्ने
बैंकका अनुसार नयाँ प्रणालीले कर्जा आवेदन प्रक्रियामा हुने म्यानुअल काम र कागजी झन्झट घटाउनुका साथै ग्राहकको समय बचत गर्नेछ। आवेदन प्रक्रियामा पारदर्शिता बढ्ने र कर्जा सेवाको टर्नअराउन्ड टाइमसमेत घटाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।
डिजिटल माध्यमबाट कर्जा प्रक्रियालाई अघि बढाउँदा कागजको प्रयोग घट्ने भएकाले बैंकले यसलाई वातावरणमैत्री तथा दिगो बैंकिङ सेवातर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।
एनएमबी बैंकले खुद्रा तथा व्यावसायिक दुवै ग्राहकलाई लक्षित गर्दै यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।
नयाँ प्रणालीसँगै कर्जा आवेदनको अवस्था बुझ्न पटक–पटक शाखा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने र ग्राहकले आफ्नो आवेदनको प्रगति आफैं अनलाइनबाट निगरानी गर्न सक्ने बैंकको भनाइ छ।













