अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ८५ अर्ब झिक्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज ८५ अर्बको निक्षेप संकलन गर्दै छ। राष्ट्र बैंकले ६ महिने निक्षेप संकलन उपकरण जारी गर्दै बोलकबोलमार्फत ८५ अर्बको तरलता प्रशोचन गर्न लागको हो।
राष्ट्र बैंकका अनुसार आज भदौ ५ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ। निक्षेप संकलनको अवधि १७५ दिन रहनेछ भने यसको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। यस उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ माघ २९ गते हुनेछ। बोल गर्न सकिने न्यूनतम रकम रु. १० करोड तोकिएको छ भने त्यसपछि १० करोड रुपैयाँले भाग जाने गरी आह्वान रकमको सीमासम्म बोल गर्न सकिनेछ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले आफूले जम्मा गर्न चाहेको रकमसँगै ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैंकले निक्षेप संकलनका लागि प्राप्त बोलमध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिई आह्वान गरिएको रु. ८५ अर्बसम्म क्रमश: बाँडफाँट गर्ने जनाएको छ। समान ब्याजदरमा प्राप्त बोलको रकम आह्वान रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिनेछ।
निक्षेपका रूपमा संकलित रकम सम्बन्धित बोलवालाको लगानीका रूपमा गणना हुने भएकाले अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ। यद्यपि, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने एसएलआर अर्थात वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थामा भने गणना गर्न सकिनेछ।













