प्रविधिको दौडमा चिप्लियो भारत, बन्यो- एसियामै सबैभन्दा कम रुचाइएको शेयर बजार
कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा दख्खल राख्ने कम्पनीहरूको खडेरी र सुस्त आर्थिक वृद्धिको मारमा परेको भारतीय शेयर बजार विदेशी लगानीकर्ताका लागि एसियाकै कम रुचाइएको गन्तव्य बनेको छ।
काठमाडाैँ । दुई वर्षयताको सुस्तता चिर्दै सन् २०२६ मा भारतीय शेयर बजारले लय समात्ने धेरैको आकलन थियो। तर, परिस्थिति बजारका जानकारहरूले सोचेभन्दा विपरीत देखिएको छ। कुनै समय एसियाकै भरोसाको केन्द्र मानिने भारतीय शेयर बजारमा पछिल्लो समय विदेशी लगानीकर्ताको आकर्षण ह्वात्तै घटेको छ।
विशेषज्ञहरूका अनुसार, विश्व बजार अहिले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को दौडमा होमिएको छ । तर भारतीय बजारमा एआईको सम्भावना बोकेका कम्पनीहरूको अभाव देखिँदा लगानीकर्ताहरू निराश भएका हुन्।
सेक्युरिटीज डिपोजिटरी (एनएसडीएल) को पछिल्लो विवरणलाई आधार मान्ने हो भने, यस वर्ष विदेशी लगानीकर्ताले भारतीय बजारबाट २६ अर्ब ४० करोड डलरभन्दा बढी पुँजी बाहिर निकालिसकेका छन्। यही कारण, मे महिनामा शेयर बजारको मूल्याङ्कनका आधारमा भारत विश्वको पाँचौँ ठूलो बजारबाट सातौँ स्थानमा खुम्चियो।
बैंक अफ अमेरिकाले हालै गरेको फन्ड प्रबन्धकहरूको सर्वेले थप चिन्ताजनक तस्बिर देखाएको छ। यस प्रतिवेदनअनुसार, लगानीकर्ताको रोजाइका दृष्टिले भारत अहिले इन्डोनेसियाभन्दा पनि पछाडि परेको छ। एसियाली बजारमा भारतको साख घटेर सबैभन्दा कम मनपराइएको बजारको सूचीमा दरिएको छ।
रोजाइमा किन आयो गिरावट ?
सर्वेमा सहभागी ३२ प्रतिशत फन्ड प्रबन्धकहरूले भारतीय बजारमा आफ्नो पकड घटाउने संकेत दिएका छन्। एआईसँग सम्बन्धित बलिया कम्पनीहरूको अभाव र सुस्त आर्थिक वृद्धिका अलावा सुधारको सुस्त गति तथा शेयरको अस्वाभाविक उच्च मूल्यलाई पनि लगानीकर्ताको वितृष्णाका प्रमुख कारण मानिएको छ।
यसको ठीक विपरीत, इन्डोनेसियाप्रति भने लगानीकर्ताको दृष्टिकोण सकारात्मक बन्दै गएको छ। जुलाईमा इन्डोनेसियाली बजारबाट हात झिक्ने सोचमा रहेका ३२ प्रतिशत फन्ड प्रबन्धकको संख्या अगस्टसम्म आइपुग्दा २७ प्रतिशतमा झर्नुले त्यहाँको बजारप्रति बढेको विश्वासलाई दर्साउँछ।
ताइवान र जापान भने अझै पनि लगानीकर्ताका लागि सुरक्षित र आकर्षक गन्तव्यकै रूपमा कायमै छन्।
यद्यपि, कम्पनीहरूको आम्दानीमा देखिएको सुधारले केही आशा जगाएको छ। ब्लूमबर्गका अनुसार, यस त्रैमासिकमा वैश्विक फन्डहरूले भारतीय शेयरमा चार अर्ब डलरभन्दा बढी भित्र्याएका छन्, जुन उदीयमान बजारहरूमध्येकै उच्च हो।
एनएसई निफ्टी ५० मा सूचीकृत कम्पनीहरूको आम्दानी अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढेको छ, जुन मोतीलाल ओसवाल फाइनेंशियल सर्भिसेजको १० प्रतिशतको अनुमानभन्दा निकै राम्रो हो।
तैपनि, बलियो आधार (फन्डामेन्टल्स) हुँदाहुँदै पनि लगानीकर्ताहरू भारतीय बजारप्रति ‘पर्ख र हेर’ को अवस्थामा छन्।
बढ्दो ऊर्जा संकट
यसअघि मे महिनामा पनि भारतीय बजार सबैभन्दा कम रुचाइएको सूचीमा परेको थियो। त्यसबेला अमेरिका-इरान द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा आएको बढोत्तरीले भारतको अर्थतन्त्रमा दबाब सिर्जना गरेको थियो। हाल फेरि द्वन्द्वको समाधान ननिस्किँदा ऊर्जाको मूल्य बढेको छ, जसले लगानीकर्ताको आत्मविश्वासमा ठेस पुर्याएको छ।
निफ्टी फिप्टी पनि मार्चको न्यून विन्दुबाट ८ प्रतिशतले उक्लिए छ । तर, यस वर्षको समग्र प्रदर्शन हेर्दा एसियाकै दोस्रो खराब बजारको पगरी यसले भिरेको छ। वर्षको सुरुदेखि नै बजारमा करिब ८ प्रतिशतको गिरावट आउनुले भारतको लगातार १० वर्षको वार्षिक वृद्धिको ऐतिहासिक शृङ्खला टुट्ने जोखिम बढेको छ।
एआईको चुनौती र रोजगारीको प्रश्न
क्वांटम एडवाइजर्स इन्डियाका प्रमुख लगानी रणनीतिकार अरविन्द चारीको भनाइमा वैश्विक लगानीकर्ताहरू अहिले विषयगत (थिम) लगानीमा रुचि राख्छन्। उनका अनुसार, एआईको लगानीको मौका खोज्ने लगानीकर्ताका लागि भारतमा पर्याप्त ‘प्लेटफर्म’ नै छैन।
फाइनान्सियल टाइम्सको रिपोर्टमा पनि विदेशी लगानीकर्ताले भारतको आईटी क्षेत्रबाट आफ्नो हिस्सा एकतिहाइले घटाएकाे उल्लेख छ । यसको मुख्य कारण एआईले भारतको सबैभन्दा ठूलो ‘ह्वाइट-कलर’ रोजगारी दिने क्षेत्रलाई कसरी धराशायी बनाउँछ भन्ने त्रास हो।
भारतसँग च्याटजीपीटी, क्लाउड जस्ता ठूला ल्याङ्ग्वेज मोडल वा चिप निर्माणको कुनै बलियो आधार नहुनुले थप अप्ठ्यारो पारेको छ। सन् २०२६ को सुरुवातमा ६० अर्ब डलर रहेको आईटी क्षेत्रमा विदेशी लगानी १५ मेसम्म आइपुग्दा ३८ अर्ब डलरमा खुम्चिएको छ।
यी यावत् समस्याका बीचमा भारतमा युवा बेरोजगारीको प्रश्न पनि उत्तिकै पेचिलो बनेको छ। ३७ करोड युवा जनसङ्ख्या रहेको भारतमा महँगो डिग्री बोकेका युवाहरू समेत रोजगारीको ग्यारेन्टी नपाउँदा निराश देखिन्छन्। हालै भएको युवा आन्दोलनले पनि व्यवस्थाप्रतिको असन्तुष्टिलाई प्रस्ट्याएको छ।
भारतीय रिजर्भ बैंकका पूर्वगर्भनर डी सुब्बारावले भनेका छन्- “विश्वभरको पुँजी अहिले एआई, बायोटेक र डाटा सेन्टरजस्ता प्रविधिमा आधारित अर्थतन्त्रतर्फ आकर्षित भइरहेको छ। भारतको ७०० अर्ब डलरको विदेशी मुद्रा सञ्चिति अहिलेका लागि बलियो कवचजस्तो देखिए पनि यो ‘अति-आत्मविश्वास’ को कारण बन्नु हुँदैन। संकटको समयमा यो सञ्चितिको सार्थकता केवल यसको विश्वसनीयतामा मात्र निहित हुनेछ, जसलाई भारतले समयमै बुझ्न जरुरी छ।”













