जेष्ठ नागरिकको हवाई टिकट सुविधामा अनियमितता भएको भन्दै प्रधानमन्त्रीलाई खुलापत्र
काठमाडौँ । नेपाली वायुसेवामा जेष्ठ नागरिकका लागि छुट्याइएको कोटाको हवाई टिकट पाउन सास्ती भएको भन्दै पीडित पक्षले प्रधानमन्त्रीलाई सम्बोधन गरेर खुलापत्र पठाइएको छ।
उक्त पत्रमा जेष्ठ नागरिकको सुविधा अनलाइन प्रणालीमा ल्याउन वा पारदर्शी बनाउन माग गरिएको छ।कानुनी कागजात बोकेर तीन दिनसम्म विभिन्न एयरलाइन्सका काउन्टर धाउँदा पनि जेष्ठ नागरिकका लागि आरक्षित टिकट नपाइएको गुनासो उनीहरूकाे छ।
एयरलाइन्सका कर्मचारीहरूले काउन्टरमा ‘टिकट सकियो’ भन्ने तयारी उत्तर दिने गरेको र अनलाइनमा त्योभन्दा सस्तो पाइने जस्ता गैरजिम्मेवार जवाफ दिएर फर्काउने गरेको पत्रमा उल्लेख छ।
काउन्टरमा ‘टिकट सकियो’ भनिए पनि उक्त छुटको टिकट कसले र कहिले काट्यो भन्ने कुनै स्पष्ट विवरण नदेखिने भएकाले यसमा ठूलो अपारदर्शिता रहेको दाबी गरिएको छ।
सर्वसाधारण जेष्ठ नागरिकले यो सुविधा नपाएको र यो टिकट कहाँ जान्छ भन्ने प्रश्न उठाउँदै पहुँचवाला वा जेष्ठ नेताहरूले मात्र प्रयोग गरिरहेका त छैनन् भन्ने शंका पत्रमा व्यक्त गरिएको छ।
समस्या समाधानका लागि जेष्ठ नागरिकको टिकट उपलब्ध छ वा छैन भन्ने स्पष्ट जानकारी दिन र टिकट बुकिङ गर्दा कुन व्यक्तिले छुट पायो भन्ने प्रणालीमै देखिने व्यवस्था गर्न आग्रह गरिएको छ।
साथै, काउन्टरको सास्ती अन्त्य गर्नका लागि जेष्ठ नागरिकको आरक्षित टिकट सोझै अनलाइनबाटै बुकिङ गर्न मिल्ने गरी सिस्टम बनाइदिन प्रधानमन्त्री, नेपाल वायुसेवा निगम र सम्बद्ध एयरलाइन्सहरूसँग माग गरिएको छ।
यस्तो छ पत्र:
सम्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार
नेपाली वायुसेवामा जेष्ठ नागरिकलाई छुट्याइएको २ वटा सिट काट्नको लागि म सम्पूर्ण document सहित विभिन्न Airliens मा ३ दिन देखि धाउँदा पनि टिकट उपलब्ध हुन सकेन । Airliens मा टिकट काट्न जादा नगएको ए त्यो त सबैभन्दा महंगो टिकटको आदि Half हुने हो त्यो भन्दा सस्तो online मा नै पाइन्छ भन्ने जवाफ दिनुहुन्छ । त्यो जेष्ठ नागरिकको टिकट काट्नको लागि सम्वन्धित Airlines को काउटरमा कसले काट्यो को गयो केहि देखिदैन खाली सकियो छैन भन्ने मात्र उत्तर आउँछ ।
सम्माननिय प्रधानमन्त्री ज्यु को मार्फत नेपाल वायुसेवा निगम सम्वन्धित Airlines मार्फत यो निवेदन छ कि त्यो जेष्ठ नागरिकको टिकट उपलब्ध छैन भनेर सम्पूर्णलाई जानकारी दिनु पर्यो नभए छ भने system मा ल्याइदिनु पर्यो । कि यो टिकट हाम्रो जेष्ठ नेताहरुले use गरेका छन् । system मा ल्याउदा Airlines को ticket booking गर्ने ठाउँमा यस Airlines को जेष्ठ नागरिकको टिकट फलानो व्यक्तिले काट्नु भएको छ भन्ने देखाउनु पर्यो । नभए यो टिकटको online मा काट्न मिल्ने गरी system मा हाल्नु पर्यो । धन्यवाद ।
जेष्ठ नागरिकको टिकट काट्न नसकेका सम्पूर्ण बुवा आमाका छोरा छोरीहरु ।













