५ भदौ २०८३, शुक्रबार

कागजी बाघ कि वास्तविक सुरक्षा ढाल?, कति दमदार छ पाकिस्तान, सऊदी अरब र टर्कीको ‘मुस्लिम नेटो’



पाकिस्तानको परमाणु शक्ति, सऊदी अरबको अर्थतन्त्र र टर्कीको रक्षा प्रविधिलाई जोड्ने ‘मक्का सम्झौता’ ले नेटो सरहको सामूहिक सुरक्षाको वाचा गरे पनि यसको व्यावहारिक प्रभाव र सामर्थ्यलाई लिएर भूराजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

काठमाडाैँ । अमेरिकाले भन्ने गरेकाे ‘मध्यपूर्व’ अर्थात् पश्चिम एसियाली खाडी क्षेत्र र समस्त एसियाली भूराजनीतिमा ठूलो हलचल ल्याएको ‘मक्का सम्झौता’ लाई कतिपय विश्लेषकहरूले ‘इस्लामिक नेटो’ वा ‘मुस्लिम नेटो’ को संज्ञा दिएका छन्।

सऊदी अरब, पाकिस्तान र टर्कीबीच भएको यो सामूहिक सुरक्षा गठबन्धनले यस क्षेत्रको सैन्य शक्ति र सामरिक समीकरणमा नयाँ आयाम थपेको छ। नेटोको धारा ५ कै मोडलमा तयार पारिएको यस सम्झौतामा कुनै पनि एक सदस्य राष्ट्रमाथि हुने आक्रमणलाई तीनै, देशमाथिको आक्रमण मानिने उल्लेख छ।

तर, प्रश्न यो उठ्छ- कागजी रूपमा नेटोसँग दाँजिएको यो ‘सम्झाैता’ को वास्तविक शक्ति र व्यावहारिक सामर्थ्य कति छ?

तीनवटै राष्ट्रका फरक र पूरक सैन्य तागत

यस गठबन्धनको सबैभन्दा ठूलो सामर्थ्य भनेको तीन वटै सदस्य राष्ट्रका आ-आफ्ना विशिष्ट र फरक सैन्य विशेषताहरू हुन्, जुन एकअर्काका पूरक बनेका छन्। अन्तर्राष्ट्रिय संस्था आईआईएसएसको विश्लेषण अनुसार यसमा सऊदी अरबको अथाह वित्तीय तथा ऊर्जा सम्पदा, पाकिस्तानको लाखौँ अनुभवी सेना र परमाणु क्षमता तथा टर्कीको अत्याधुनिक रक्षा उद्योग र प्रविधि मिसिएको छ।

ग्लोबल फायरपावर इन्डेक्सका अनुसार पाकिस्तानसँग करिब ६ लाख ६० हजार सक्रिय सैनिक छन् भने टर्कीसँग ४ लाख ८१ हजार र सऊदी अरबसँग २ लाख ४७ हजार सैनिकको बलियो फौज छ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्डस्ट्री (सिपरी) का अनुसार रक्षा बजेटका हिसाबले सऊदी अरबले ठूलो रकम खर्च गर्दै आएको छ। सन् २०२५ मा सऊदी अरबले रक्षा क्षेत्रमा ८३ अर्ब डलर खर्च गरेको थियो, जुन विश्वको आठौं ठूलो रक्षा बजेट हो। सोही अवधिमा टर्कीको रक्षा बजेट ३० अर्ब डलर र पाकिस्तानको ११.९ अर्ब डलर रहेको थियो।

टर्कीसँग नेटोको दोस्रो ठूलो सेना, आधुनिक नौसैनिक क्यारियर र बायराक्टार जस्ता विश्वचर्चित ड्रोन प्रविधि छ। यता पाकिस्तान आतंकवाद विरोधी अभियानमा लामो युद्ध अनुभव सँगालेको देश हो भने सऊदी अरब आधुनिक पश्चिमी हतियार, अत्याधुनिक लडाकु विमान र मिसाइल रक्षा प्रणालीले सुसज्जित छ।

थल सेना, लडाकु विमान र प्रत्याक्रमण क्षमता

पाकिस्तानको सेना विश्वका ठूला थल सेनाहरूमा गनिन्छ। उससँग २,५७० भन्दा बढी मुख्य युद्धक ट्यांक र ४,६०० भन्दा बढी तोपखाना प्रणाली छन्। अल-खालिद र अल-जरार जस्ता स्वदेशी ट्यांकहरूका साथै आतंकवाद विरोधी अभियानोंमा लामो समय लडेको अनुभवले पाकिस्तानको थल र वायु सेनालाई बलियो बनाएको छ। चीन उसका मुख्य रक्षा साझेदारको रूपमा रहेको छ।

टर्की नेटोका ती देशहरूमा पर्छ जसको थल सेना सबैभन्दा ठूलो मानिन्छ। उससँग २,३०० भन्दा बढी मुख्य युद्धक ट्यांक छन् र उसले अल्ताय जस्ता ट्यांकहरू स्वदेशमै विकास गरिरहेको छ। वायु सेनाको मामिलामा टर्कीसँग लगभग २०० देखि २९३ सम्म लडाकु विमान छन् र एफ-16 यसको मेरुदण्ड हो। टर्कीले ‘कान’ नामक पाँचौं पुस्ताको स्वदेशी लडाकु विमान पनि बनाइरहेको छ।

सऊदी अरबको थल सेना पाकिस्तान र टर्कीको तुलनामा सानो भए पनि यो अमेरिकी एम वान ए टु अब्राम्स जस्ता अत्याधुनिक पश्चिमी हतियारले सुसज्जित छ। यद्यपि वायु शक्ति र मिसाइल रक्षा प्रणाली सऊदी अरबको मुख्य सामर्थ्य हो, जससँग एफ-15 एसए र यूरोफाइटर टाइफून जस्ता लगभग २८३ लडाकु विमानहरू छन्।

अत्याधुनिक ड्रोन प्रविधि र नौसैनिक शक्ति

यस गठबन्धनको सबैभन्दा बलियो पक्ष भनेको ड्रोन प्रविधिमा भएको व्यापक लगानी र प्रयोग हो। पाकिस्तान र सऊदी अरब दुवैले टर्कीबाट ड्रोनहरू खरिद गरेका छन्। पाकिस्तानले बुराक र शाहपर जस्ता ड्रोनहरू प्रयोग गर्छ भने टर्की आज ड्रोन निर्माणमा विश्वकै अग्रणी देशमा गनिन्छ।

टर्कीका बायराक्टार टीबी2, अकिन्जी, अंका र अकसुनगुर जस्ता ड्रोनहरूले विश्वका विभिन्न द्वन्द्वहरूमा आफ्नो प्रभाव साबित गरिसकेका छन्। यता सऊदी अरबले पनि चिनियाँ सीएच-4 र विंग लूंग सिरिजका ड्रोनहरू चलाउँदै ‘भिजन २०३०’ अन्तर्गत आफ्नै देशमा ड्रोन बनाउने प्रयास गरिरहेको छ।

ग्लोबल फायरपावर इन्डेक्सका अनुसार तीन देशमध्ये सबैभन्दा बलियो नौसैनिक शक्ति टर्कीसँग छ, जसमा १९२ नौसैनिक संसाधन र १३ वटा पनडुब्बीहरू छन्। टर्की एक्लो यस्तो देश हो जससँग हेलिकप्टर क्यारियर ‘टीसीजी अनादोलु’ जस्तो जहाज छ।

पाकिस्तानसँग १२१ नौसैनिक संसाधन, ८ वटा पनडुब्बी र १२ वटा फ्रिगेट छन्, जसमा चीनको सहयोगमा बनेकी पहिलो हंगोर श्रेणीको पनडुब्बी पनि सामेल छ। सऊदी अरबसँग कुनै पनडुब्बी नरहे पनि १२ वटा आधुनिक फ्रिगेटहरू रहेका छन्।

सामूहिक प्रतिरोधको यथार्थ

परमाणु शक्ति र प्रतिरोधको मामिलामा यो गठबन्धन अत्यन्तै जटिल अवस्थामा छ। यी तीन देशमध्ये केवल पाकिस्तान मात्र आधिकारिक रूपमा परमाणु हतियार सम्पन्न देश हो। सिपरीको ‘वर्ल्ड न्युक्लियर फोर्सेस २०२६’ रिपोर्ट अनुसार जनवरी २०२६ सम्म पाकिस्तानसँग करिब १७० परमाणु वार्हेडहरू थिए।

पाकिस्तानले जमिन, आकाश र समुद्रबाट प्रहार गर्न सकिने ‘न्युक्लियर ट्रायड’ प्रणालीको विस्तार गर्दैछ र शाहीन, बाबर तथा गजनवी जस्ता क्षेप्यास्त्रहरू विकसित गरिरहेको छ।

टर्कीसँग आफ्नै राष्ट्रिय परमाणु भण्डार छैन, तर यो नेटोको परमाणु साझेदारी व्यवस्था अन्तर्गत पर्दछ । अमेरिकी परमाणु बमहरू उसको भूमिमा तैनाथ छन्।

उता सऊदी अरब परमाणु हथियार सम्पन्न देश होइन, यद्यपि पाकिस्तानसँगकाे बढ्दो रक्षा सहयोग तथा सम्झौताहरूले खाडी खाडी क्षेत्रकाे सुरक्षामा ठूलो बहस सिर्जना गरेको छ। विज्ञ डैनियल मार्कीका अनुसार सऊदी अरबको पैसा, पाकिस्तानको जनसङ्ख्या र परमाणु क्षमता तथा टर्कीको उन्नत प्रविधिले एकअर्काको कमजोरीलाई परिपूरण गर्दै यस गठबन्धनलाई एक रणनीतिक रूपमा शक्तिशाली र पूरक शक्ति बनाएको छ।

व्यावहारिक चुनौती

सैद्धान्तिक रूपमा यो गठबन्धन शक्तिशाली देखिए पनि यसका आ-आफ्नै व्यावहारिक सीमा र चुनौतीहरू पनि छन्। मध्यपूर्व मामिलाका विज्ञहरूका अनुसार सऊदी सेनामा आधुनिक प्रविधि भए पनि प्रशिक्षित मानव संसाधन र संस्थागत सुदृढीकरणको केही कमी छ।

अर्कोतर्फ, पाकिस्तान आर्थिक सीमितताका साथै भारत र अफगानिस्तानसँगका जटिल सुरक्षा मामिलामा अल्झिरहेको हुन्छ भने टर्कीलाई पनि केही पश्चिमा रक्षा कार्यक्रमहरूबाट बाहिर पारिएको छ।

यद्यपि, हूती विद्रोहीका आक्रमण र अमेरिकाको बदलिँदो क्षेत्रीय भूमिकाका बीच सऊदी अरबले विकल्पहरू खोज्ने क्रममा यो गठबन्धन तयार पारेको हो। यसरी एकातिर खाडी क्षेत्रमा नयाँ रणनीतिक ध्रुवीकरण बन्दै गर्दा यो गठबन्धनले क्षेत्रीय स्थायित्व र रक्षा आत्मनिर्भरताका लागि ऐतिहासिक तर कडा परीक्षाको सामना गर्दै अघि बढ्नुपर्ने विश्लेषकहरूले बताएका छन् ।