५ भदौ २०८३, शुक्रबार

नाडा अटो शो अघि काठमाडाैंमा देखियाे प्रिमियम ईभी ‘अभतार ०७’, कस्तो यसको क्रेज?



काठमाडाैं । बहुप्रतीक्षित प्रिमियम इलेक्ट्रिक एसयूभी अभतार ०७ काठमाडौँका सडकमा देखिएको छ।

आगामी ‘नाडा अटो शो २०२६’ मा सार्वजनिक गर्ने तयारी भइरहेका बेला यो गाडी काठमाडौँमा देखिएसँगै यस पटकको नाडा अटो शोमा प्रिमियम ईभी सेग्मेन्टको प्रतिस्पर्धा अझै रोचक बन्ने देखिएको हाे ।

चङ्गान, सीएटीएल र हुवावेको संयुक्त सहकार्यमा स्थापित ब्रान्ड ‘अभतार’ को यो मोडल प्रविधि र विलासिताको उत्कृष्ट मिश्रण मानिन्छ।

अन्तर्राष्ट्रिय बजारमा यी सबै विशेषता उपलब्ध भए तापनि नेपालका लागि भने कम्पनीले कुन-कुन भेरियन्ट वा कति ब्याट्री क्षमताको मोडल ल्याउँदैछ भन्ने कुरा आधिकारिक रूपमा खुलाएको छैन। काठमाडौँमा गाडी देखिए पनि नेपाल-स्पेक अनुसारको ब्याट्री, मोटर पावर, फिचरहरू र यसको आधिकारिक मूल्य भने नाडा अटो शोकै क्रममा सार्वजनिक गरिनेछ।

अन्तर्राष्ट्रिय बजारमा कस्तो छ अभतार ०७?

ग्लोबल बजारमा अभतार ०७ ८२.२ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री प्याकसहित उपलब्ध छ। यो मोडल रियर-ह्विल-ड्राइभ र अल-ह्विल-ड्राइभ गरी दुईवटा पावरट्रेन विकल्पमा आउँछ।

यसको सिंगल मोटर मोडलले २५२ किलोवाट पावर निकाल्छ भने ड्युअल मोटर भर्सनले ४४० किलोवाटसम्मको पावर दिन्छ। एकपटकको फुल चार्जमा यसले ६१० देखि ६५० किलोमिटरसम्मको रेन्ज दिने र मात्र ३.९ सेकेन्डमै ० देखि १०० किमी प्रतिघण्टाको गति समात्न सक्ने क्षमता राख्छ।

अभतार ०७ को लम्बाई ४,८२५ एमएम, चौडाई १,९८० एमएम, उचाई १,६१० एमएम र ह्विलबेस २,९४० एमएम रहेको छ। स्प्लिट लाइटिङ, भित्र लुक्ने ढोकाका ह्यान्डल, पातलो टेल ल्याम्प र बोनेटको ‘हेलो डिस्प्ले’ ले यसलाई निकै आधुनिक लुक दिएका छन्।

गाडीको भित्री बनावटमा ३५.४-इन्चको ठूलो फाेर के डिस्प्ले र चालकका लागि १५.६-इन्चको डिजिटल क्लस्टर दिइएको छ, जुन हुवावेको हार्मोनी ओएस प्रणालीबाट सञ्चालित हुन्छ। २५ वटा स्पीकरसहितको मेरिडीयन साउन्ड सिस्टम, डिजिटल रियर-भ्यू मिरर र जिरो-ग्र्याभिटी सिटले यात्रालाई अत्यधिक आरामदायी बनाउँछन्।

यसमा ८००-भोल्टको इलेक्ट्रिकल आर्किटेक्चर प्रयोग भएकाले यसले तीव्र गतिको डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्छ। साथै, हुवावेको अत्याधुनिक ड्राइभिङ सिस्टम रहेकाले यसमा अटोमेटेड नेभिगेसन, अटोमेटेड पार्किङ र एड्भान्स इमर्जेन्सी ब्रेकिङ जस्ता प्रविधिहरू समावेश छन्।

नाडा अटो शो अगावै काठमाडौँमा देखिएकाले अब नेपालको प्रिमियम ईभी बजारमा अभतार ०७ ले कस्तो प्रभाव पार्छ भन्ने चासोका साथ हेरिएको छ।