साताको अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले ओरालो, कारोबार ४ अर्बमा सीमित
काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । शुक्रबार नेप्से परिसूचक १० दशमलव ६७ अंकले घटेर २६ सय १८ दशमलव ७२ अंक विन्दुमा आइपुगेको छ।
यस्तै कारोबार रकम पनि ४ अर्बमा सीमित भएको छ । आज १ करोड कित्ता सेयर ४ अर्ब १६ करोड ७१ लाखमा खरिद बिक्री भएको छ। शुक्रबार ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको मूल्य घटेको छ भने १० वटा कम्पनीको मूल्य स्थिर अवस्थामा रहेको छ ।
आज सर्वोत्तम पेन्ट्सको शेयरमूल्य १०४ रुपैयाँले बढ्दै सकारात्मक सर्किटमा पुगेको छ। कम्पनीको शेयर प्रतिकित्ता ७९७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको हो।
यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य पनि करिब १४ प्रतिशतले उकालो लागेको छ। अर्कोतर्फ, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ।
कारोबार रकमका हिसाबले रिलायन्स स्पिनिङ्ग मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको २६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। सोलु हाइड्रोपावरको कारोबार रकम २४ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ भने रिडी पावर कम्पनीको कारोबार १८ करोड ५० लाख रुपैयाँभन्दा माथि रहेको छ।
आज कारोबारमा रहेका १३ उपसमूहमध्ये एउटाको परिसूचक वृद्धि भएको छ भने बाँकी १२ उपसमूहका परिसूचक घटेका छन्। शुक्रबार म्युचुअल फण्ड उपसमूहको परिसूचक मात्र सामान्य अंकले बढेको हो।













