५ भदौ २०८३, शुक्रबार

‘वर्डक्याम्प काठमाडौँ २०२६’ को तयारी अन्तिम चरणमा, बहुराष्ट्रिय कम्पनीहरूसँग प्रत्यक्ष नेटवर्किङकाे अवसर



काठमाडौँ । वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौँ २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।

वर्डप्रेस काठमाडौँको आयोजनामा हुन लागेको यस दुईदिने प्रविधि सम्मेलनमा देशभरका सफ्टवेयर इन्जिनियर, वेब विकासकर्ता, विद्यार्थी, फ्रिलान्सर तथा प्रविधि उद्यमीहरूको बाक्लो उपस्थिति रहने भएको छ।

सम्मेलनको पहिलो दिन ‘कन्ट्रीब्युटर डे’ रहनेछ । यसमा सहभागी तथा विकासकर्ताहरूले वर्डप्रेस सफ्टवेयरको मुख्य कोडिङ, नेपाली भाषा अनुवाद, दस्ताबेजीकरण, थिम तथा प्लगइन परीक्षणमा प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाउनेछन्। साथै अनुभवी प्रशिक्षकहरूबाट प्रत्यक्षरूपमा वर्डप्रेसको तालिम समेत दिइने भएकोले सहभागीहरुले प्राविधिक सिप निखार्नुको साथै अन्तर्राष्ट्रिय स्तरको अनुभव र व्यक्तिगत प्रोफाइललाई निकै बलियो बनाउन सक्नेछन् ।

सम्मेलनको दोस्रो दिन आधुनिक प्रविधि, निःशुल्क र खुल्ला स्रोत प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), र सुरक्षित वेब विकासमा केन्द्रित प्राविधिक तथा व्यावसायिक सत्रहरू सञ्चालन हुनेछन्। विशेष गरी एआईको सहयोगमा छिटो र प्रभावकारी सफ्टवेयर विकास गर्ने कार्यप्रणाली, युआई-युएक्स, स्मार्ट प्रम्प्ट लेखन, सुरक्षित कोडिङ, क्लाउड प्रणाली र डिजिटल भुक्तानीका विविध पक्षहरूबारे विशेषज्ञ र अनुभवी वक्ताहरुद्वारा तालिमहरू सञ्चालन हुनेछन् ।

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, र फिलिपिन्स लगायतका मुलुकबाट आएका ख्यातिप्राप्त प्राविधिक विज्ञ, उत्पादन व्यवस्थापक र समुदायका अगुवाहरूले आफ्नो प्रस्तुति दिनेछन् । साथै नेपालमै बसेर विदेशी ग्राहकहरूसँग कसरी काम गर्ने आफ्ना डिजिटल उत्पादनहरूलाई विश्व बजारमा बिक्री गरेर मुद्रा आर्जन गर्ने व्यवहारिक र रणनीतिक पाटोहरूको बारेमा पनि छलफल हुनेछन्।

कार्यक्रमले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी तथा नयाँ प्रतिभाहरूका लागि रोजगारी, इन्टर्नसिप र मेन्टरसिपको उत्कृष्ट ढोका खोल्नेछ। सहभागीहरूले दिनभर विभिन्न कम्पनीका नेतृत्वहरूसँग सम्बन्ध विस्तार गर्ने, आफ्ना समस्या र नयाँ सोचहरूमा छलफल गर्ने, आधिकारिक उपहारहरू प्राप्त गर्ने तथा सम्मेलनपछि आयोजना हुने अनौपचारिक कार्यक्रममा सहभागी भई प्रविधि समुदायसँग आत्मीय सम्बन्ध बनाउने मौका पाउनेछन्।

यस पटकको सम्मेलनलाई विश्वप्रसिद्ध बहुराष्ट्रिय प्रविधि कम्पनीहरूले भव्य रूपमा प्रायोजन तथा सहभागिता जनाउने पक्का भएको छ। कार्यक्रमको प्लाटिनम प्रायोजकका रूपमा ब्लुहोस्ट, होस्टिङ डटकम , जेटप्याक र उ रहेका छन्। त्यस्तै एकेडेमिक पार्टनरका रूपमा टेक्सास इन्टरनेसनल कलेज, ब्रोन्ज प्रायोजकमा एलिमेन्टर तथा आफ्टर पार्टी प्रायोजकका रूपमा भिलेज हाइल्यान्ड रिसोर्टले साथ दिएका छन्। सहभागीहरूले यी विश्वस्तरीय प्रविधि कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, नेटवर्किङ, आफ्ना नवीन प्राविधिक अवधारणाहरूको प्रस्तुति तथा रोजगारी र व्यावसायिक सहकार्यका नयाँ अवसरहरू पहिल्याउन सक्ने आयोजकको भनाइ छ।