एक महिनामा नेपालको वैदेशिक व्यापार २ खर्ब नाघ्यो, आयातको दबदबाले डेढ खर्ब व्यापारघाटा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालको वैदेशिक व्यापार २ खर्ब रुपैयाँ नाघेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको श्रावण महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्क अनुसार एक महिनामा नेपालले २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख ६८ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही महिनामा १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख ९ हजार रुपैयाँ रहेको यस्तो व्यापार यो वर्ष ३५ दशमलव ४४ प्रतिशतले बढेको छ ।
वैदेशिक व्यापार बढ्नुमा आयात र निर्यात दुवैमा भएको उल्लेख्य वृद्धिको योगदान देखिएको छ । तथ्याङ्क अनुसार साउन महिनामा नेपालले १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरको वस्तु आयात गर्दा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेकाे छ।
गत वर्षको यसै अवधिको तुलनामा आयात ३१ दशमलव०४ प्रतिशत र निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेकाे हाे । गत आर्थिक वर्षको साउनमा नेपालले १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रूपैयाँ बराबरकाे वस्तु तथा सेवा आयात गर्दा २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रूपैयाँ बराबरकाे वस्तु तथा सेवा निर्यात गरेकाे थियाे ।
निर्यातमा देखिएको उच्च वृद्धिले कुल वैदेशिक व्यापारमा नेपाली वस्तुको हिस्सा बढाएको छ । गत आर्थिक वर्षको पहिलो महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १४ दशमलव ३३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा बढेर १७ दशमलव ११ प्रतिशत पुगेको छ। यसरी कुल व्यापारमा निर्यातको हिस्सा १९ दशमलव ४१ प्रतिशतले बढेको देखिन्छ ।
तर निर्यातमा उत्साहजनक वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले व्यापार घाटा भने थप बढेको छ । समीक्षा अवधिमा मुलुकको व्यापार घाटा २४ दशमलव ८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख २८ हजार रुपैयाँ थियो ।
नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा अझै अत्यधिक छ । चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८२ दशमलव ८९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा ८५ दशमलव ६७ प्रतिशत रहेको यस्तो हिस्सा ३ दशमलव २५ प्रतिशतले घटेको छ ।
आयात–निर्यात अनुपातमा भने आकर्षक सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो महिनामा नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ५ रुपैयाँ ९८ पैसा बराबरको वस्तु आयात गरेकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा यस्तो अनुपात घटेर ४ रुपैयाँ ८४ पैसामा झरेको छ ।













