५ भदौ २०८३, शुक्रबार

साउनमा डेढ अर्ब बढीका विद्युतीय गाडी आयात, राजस्व संकलन कति ?



काठमाडौँ। नेपालको अटोमोबाइल बजारमा इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै विद्युतीय सवारीसाधनतर्फको रूपान्तरण निकै तीव्र गतिमा भइरहेको छ। इन्धनको बढ्दो मूल्य, सवारी सञ्चालन तथा मर्मतसम्भारमा हुने कम खर्च र तुलनात्मक रूपमा सुलभ बैंक फाइनान्सिङ सुविधाका कारण नेपाली उपभोक्ताहरूको रोजाइमा विद्युतीय गाडी प्राथमिकतामा पर्न थालेका छन्।

यसका साथै, देशभित्रै जलविद्युत्को उत्पादन बढ्दै जानु र मुख्य सडक तथा सहरी क्षेत्रमा चार्जिङ पूर्वाधारको विस्तार तीव्र हुनुले पनि विद्युतीय गाडीप्रतिको उपभोक्ताको विश्वास र आकर्षणलाई थप बलियो बनाएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ६८९ वटा विद्युतीय चारपांग्रे गाडी आयात भएका छन्। भन्सार विभागका अनुसार ती विद्युतीय गाडी आयात गर्दा १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ भने सरकारले विद्युतीय गाडीको आयातबाट १ अर्ब ६ करोड १६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

साउनमा आयात भएका कुल ९८७ चारपांग्रे गाडीमध्ये विद्युतीय गाडीको हिस्सा करिब ६९ दशमलव ८ प्रतिशत रहेको छ। अर्थात् नेपाल भित्रिएका प्रत्येक १० चारपांग्रे गाडीमध्ये झन्डै सातवटा विद्युतीय रहेका छन्।

आयात मूल्यका आधारमा साउनमा एउटा विद्युतीय गाडीको औसत मूल्य करिब २३ लाख ४४ हजार रुपैयाँ रहेको देखिन्छ। यसले नेपालमा विद्युतीय चारपांग्रे सवारीसाधनको आयात र प्रयोगप्रतिको आकर्षण बढिरहेको देखाएको छ।