८ भदौ २०८३, सोमबार

राष्ट्र बैंकबाट एकै वर्षमा २ डेपुटी गभर्नरसहित ३० कर्मचारीको अवकाश



काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०८२/८३ मा दुई डेपुटी गभर्नर र छ कार्यकारी निर्देशकसहित कुल ३० जना कर्मचारीले अनिवार्य अवकाश लिएका छन्। बैंकका अनुसार उमेरहद, सेवा अवधि र पदावधि पूरा भएपछि विभिन्न तहमा कार्यरत कर्मचारीहरू सेवाबाट निवृत्त भएका हुन्।

एकै आर्थिक वर्षमा राष्ट्र बैंकको उच्च व्यवस्थापन तहका आठ वरिष्ठ अधिकारीले सेवा छाडेका छन्। डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले फागुन २४ गते आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरेका थिए। उनीहरूलाई २०७७ फागुन २५ गते डेपुटी गभर्नर नियुक्त गरिएको थियो।

कार्यकारी निर्देशकतर्फ प्रदीप राज पौड्यालले साउन १७ गते तथा ऋषिकेश भट्टले भदौ १२ गते अवकाश पाएका छन्। त्यस्तै, डा. गुणाकर भट्टले कात्तिक ६ गते सातवर्षे पदावधि पूरा गरेपछि अवकाश लिएका हुन्।

यसैगरी विमलराज खनालले पुस ७ गते, रोशनकुमार सिग्देलले चैत १८ गते र नरेश शाक्यले जेठ ३० गते राष्ट्र बैंकको सेवा छाडेका छन्। शाक्यको अवकाश सातवर्षे पदावधिका कारण भएको हो भने खनाल र सिग्देलले ५८ वर्षे उमेरहद पूरा गरेका कारण निवृत्त भएका हुन्।

अवकाशमा गएका कार्यकारी निर्देशकहरूले राष्ट्र बैंकका महत्वपूर्ण विभाग तथा महाशाखाको नेतृत्व गरेका थिए। उनीहरूको जिम्मेवारीमा वित्त व्यवस्थापन, आर्थिक अनुसन्धान, बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण, भुक्तानी प्रणाली, मुद्रा व्यवस्थापन, सूचना प्रविधि, लघुवित्त तथा गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण र मानव संसाधन व्यवस्थापनजस्ता क्षेत्र समेटिएका थिए।

वरिष्ठ तहबाहेक राष्ट्र बैंकका निर्देशक, उपनिर्देशक, सहायक तथा कार्यालय सहयोगीलगायत कर्मचारी पनि गत आर्थिक वर्षमा सेवाबाट बाहिरिएका छन्। बैंकिङ विभागकी हिरा लक्ष्मी नेपाली र मुद्रा व्यवस्थापन विभागका साउचा पोडेले ३० वर्षे सेवा अवधि पूरा गरेपछि साउन १ गते अवकाश पाएका थिए।

त्यस्तै, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिम्सिना, टक्सार महाशाखाका निर्देशक लोकेन्द्रप्रसाद अर्याल, सिद्धार्थनगर कार्यालयका उपनिर्देशक माधवराज ढकाल, लघुवित्त संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक नरेशकुमार अधिकारी तथा कानुन महाशाखाका निर्देशक टेकराज भण्डारीलगायत कर्मचारी पनि अवकाश हुने सूचीमा परेका छन्।

जेठ र असार महिनामा समेत राष्ट्र बैंकका विभिन्न विभागमा कार्यरत उपनिर्देशक तथा अन्य कर्मचारीले सेवा पूरा गरी अवकाश लिएका छन्। मानव संसाधन व्यवस्थापन विभागका अनुसार अधिकांश कर्मचारी ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन्।

यसैबीच, टक्सार महाशाखाका उपनिर्देशक विष्णुबहादुर श्रेष्ठको भने गत असार १३ गते उपचारका क्रममा ५५ वर्षको उमेरमा निधन भएको राष्ट्र बैंकले जनाएको छ।