१० भदौ २०८३, बुधबार

नाडा अटो शोमा बैंकहरूको फाइनान्सिङ अफर : कुन बैंकले कतिमा दिँदैछन् अटो लोन?



काठमाडौं। नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधन खरिदकर्तालाई आकर्षित गर्न विभिन्न आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग अपेक्षाकृत सुस्त रहेका बेला बैंकहरुले तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराइरहेका हुन्।

कतिपय संस्थाले त प्रिमियम समेत नथपी बेस रेटमा कर्जा प्रवाह गरिरहेका छन् । भृकुटीमण्डपमा आयोजना जारी नाडा अटो शोमा विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका सवारीसाधनका नयाँ मोडल सार्वजनिक भइरहेका छन्। यही अवसरलाई लक्षित गर्दै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले कम ब्याजदर, स्थिर ब्याजदर, न्यून सेवा शुल्क तथा छिटो कर्जा प्रवाहजस्ता सुविधा अघि सारेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुका लागि नाडा अटो शो कर्जा विस्तारको सुवर्ण अवसर बनेको छ। यसैबीच नाडा अटो शोमा बैंक तथा वित्तीय संस्थाको फाइनान्सिङ अफर के कस्तो छ भन्ने विषयमा अर्थपथले भृकुटीमण्डपस्थित बैंक तथा वित्तीय संस्थाका स्टलमा रहेका प्रतिनिधीहरुसँग जानकारी लिएको छ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘ग्लोबल अटो लोन’ योजना ल्याएको छ। बैंकका अनुसार ग्राहकले वार्षिक ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन लिन सक्नेछन्। यो ब्याजदरमा न्यूनतम ०.५० प्रतिशत रिस्क प्रिमियम समावेश रहेको बैंकले जनाएको छ। अटो लोनमा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ।

बैंकले सात वर्ष अवधिको स्थिर ब्याजदरको विकल्पसमेत दिएको छ। यसअन्तर्गत पहिलो तीन वर्षका लागि ५.१७ प्रतिशत ब्याजदर स्थिर रहनेछ भने बाँकी अवधिका लागि बेस रेटमा २ प्रतिशत प्रिमियम थपिनेछ। नाडा अटो शोमा बैंकले छुट्टै स्टलमार्फत ग्राहकलाई कर्जा प्रक्रियासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराइरहेको छ।

प्रभु बैंक

प्रभु बैंकले नाडा अटो शोलाई लक्षित गर्दै बेस रेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी अटो लोन योजना ल्याएको छ। बैंकको हालको बेस रेट ४.९४ प्रतिशत रहेकाले उक्त प्रिमियम जोड्दा अटो लोनको ब्याजदर ५.४४ प्रतिशत हुन्छ।

बैंकले कर्जा प्रक्रिया छिटो, सरल र झन्झटमुक्त बनाउने जनाएको छ। नाडा अटो शोमा प्रभु बैंकको स्टलबाट ग्राहकले अटो लोनसम्बन्धी जानकारी तथा वित्तीय परामर्श लिन सक्नेछन्।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले ग्राहकलाई ब्याजदर घटबढको जोखिमबाट जोगाउन सात वर्ष अवधिको स्थिर ब्याजदरको अटो लोन योजना ल्याएको छ। बैंकका अनुसार ग्राहकले सात वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो लोन लिन सक्नेछन्। कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने बैंकले जनाएको छ।

हाल बैंक तथा वित्तीय संस्थाबीच अटो लोनमा प्रतिस्पर्धा बढिरहेका बेला एनआईसी एसियाको ५.९९ प्रतिशतको स्थिर ब्याजदर योजनाले सवारी खरिदकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। विशेषगरी लामो अवधिसम्म ब्याजदर स्थिर रहने भएकाले मासिक किस्ता तथा कर्जाको वित्तीय योजना बनाउन ग्राहकलाई सहज हुने देखिन्छ।

कुमारी बैंक

कुमारी बैंकले ५.२१ प्रतिशत ब्याजदरमा अधिकतम १० वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराएको छ । बैंकले ब्याजदर अझै घट्न सक्ने जनाएको छ । कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ । व्यावसायिक सवारी खरिदका लागि भने आधार दरमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकको बेस रेट ५.०३ प्रतिशत रहेकाले त्यसमा थोरै प्रिमियम थप गरी सवारी कर्जा उपलब्ध गराइएको बैंकले जनाएको छ।

नबिल बैंक

नबिल बैंकले नयाँ सवारीसाधन खरिदका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन योजना ल्याएको छ। बैंकका अनुसार अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ।

बैंकको पछिल्लो तीन महिनाको औसत बेस रेट ४.४२ प्रतिशत रहेको जनाइएको छ।

मुक्तिनाथ विकास बैंकले बेसरेटमै कर्जा दिदै

मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बेस रेटमै अटो लोन दिने योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार हालको बेस रेट ५.५४ प्रतिशत रहेकाले ग्राहकले ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन लिन सक्नेछन्। ‘बेस रेट प्लस शून्य प्रतिशत’ को यो विशेष योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ।

कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने जनाएको छ। यो सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखाबाट लिन सकिनेछ।

कृषि विकास बैंक

कृषि विकास बैंकले नाडा अटो शो लक्षित गर्दै अटो कर्जामा प्रिमियम तथा सेवा शुल्कमा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ। बैंकको हालको बेस रेट ४.६६ प्रतिशत रहेको छ।

बैंकले छुटसहितको अटो लोन योजना नाडा अटो शोमा प्रस्तुत गरेको हो।

माछापुच्छ्रे बैंक  

माछापुच्छ्रे बैंकले बेस रेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन दिने योजना ल्याएको छ। बैंकका अनुसार अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ। कर्जाको अधिकतम अवधि १० वर्षसम्म रहनेछ।

माछापुच्छ्रे बैंकको बेसरेट ४.९५ प्रतिशत रहेको छ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले अटो कर्जामा ०.५० प्रतिशत सेवा शुल्क कायम गरेको छ।

नाडा अटो शोमा सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका सवारीसाधन खरिदका लागि ५.०२ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ। बैंकले सात वर्ष अवधिका लागि उक्त ब्याजदरमा अटो लोन उपलब्ध गराएको हो।

त्यहाँका प्रतिनिधीहरुले बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले बेस रेटमा थोरै प्रिमियम थपेर सवारी कर्जा उपलब्ध गराउन सकिएको बताएका छन्।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बैंकको बेसरेट ५.१४ प्रतिशत रहेको छ। बेसरेटमा ०.४० प्रतिशत प्रिमियम थप्दै बैंकले ५.५४ प्रतिशतमा अटो लोन उपलब्ध गराइरहेको छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकलाई ५.९६ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। उक्त कर्जामा ०.५ प्रतिशत सेवा शुल्क (प्रोसेसिङ शुल्क) लाग्ने बैंकले जनाएको छ।

बैंकका अनुसार एक्स्पो अवधिमा बुकिङ गरिएका सवारी साधनमा यो विशेष कर्जा योजना लागू हुनेछ। सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भएर बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन्। प्रतिस्पर्धी ब्याजदर र सेवा शुल्कमा उपलब्ध हुने कर्जाले ग्राहकलाई आफ्नो आवश्यकता र क्षमताअनुसार सवारी साधन खरिद गर्न सहज हुने बैंकको अपेक्षा छ।

नेपाल बैंक  

नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अटो लोन योजना ल्याएको छ। बैंकका अनुसार नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकले बेस रेटमा ०.४९ प्रतिशत प्रिमियम थप गरी कायम हुने ब्याजदरमा कर्जा लिन सक्नेछन्। बैंकको हालको बेस रेट ४.४५ प्रतिशत मान्दा उक्त प्रिमियमसहित अटो लोनको ब्याजदर ४.९४ प्रतिशत पुग्छ।

नाडा अटो शोमा नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्ने ग्राहकलाई कर्जा प्रशासनिक शुल्कतर्फ ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ। साथै कर्जा लिने ग्राहकले कुनै शुल्क नतिरी तीन लाख रुपैयाँसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा पाउने व्यवस्था गरिएको छ।

महालक्ष्मी विकास बैंक

भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८औँ संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ। गाडी खरिदका लागि अटो शो अवधिमा सवारी कर्जाको प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिनेछ। भदौ महिनाका लागि बैंकको आधारदर ५.६४ प्रतिशत रहेको र यसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकले लिन सक्ने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहने ग्राहकले अटो शोमा स्टल नम्बर एल, हल नम्बर ०४ मा सम्पर्क गर्न सक्नेछन् । बैंकले विद्युतीय तथा अन्य निजी एवं व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार यस योजनामा प्रोसेसिङ शुल्क ०.५० प्रतिशत मात्र कायम गरिएको छ।

नाडा अटो शो २०२६ ले सवारीसाधन बजारमा बैंक तथा वित्तीय संस्थाबीचको प्रतिस्पर्धालाई थप तीव्र बनाएको देखिन्छ। ग्राहक आकर्षित गर्न बैंकहरूले ब्याजदर मात्र नभई स्थिर ब्याज, सेवा शुल्कमा सहुलियत, सरल प्रक्रिया र छिटो कर्जा प्रवाहजस्ता सुविधालाई प्राथमिकतामा राखेका छन्। यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि वित्तीय विकल्प बढाएको छ।

यद्यपि, कर्जा छनोट गर्दा प्रकाशित ब्याजदरलाई मात्र आधार नबनाई त्यसमा जोडिने प्रिमियम, सेवा तथा प्रशासनिक शुल्क, ब्याजदरको प्रकृति र कर्जाको समग्र लागतलाई समेत ध्यान दिनु आवश्यक हुन्छ। बैंकहरूबीच बढ्दो प्रतिस्पर्धाले सवारी कर्जालाई थप सहज र प्रतिस्पर्धी बनाएको ग्राहकहरुको भनाइ छ।