१० भदौ २०८३, बुधबार

भोटेकोशीको बाढीपछि प्रधानमन्त्री शाहद्वारा आपत्कालीन बैठक आह्वान, उद्धारमा जुट्न निर्देशन



भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाउँदै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न कडा निर्देशन दिएका छन्।

काठमाडाैँ । भोटेकोशी नदीमा अचानक आएको ठूलो बाढीले तटीय क्षेत्रमा जोखिम बढाएपछि सरकारले आपत्कालीन कदम चालको छ। सम्भावित मानवीय क्षति रोक्न र प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न प्रधानमन्त्री बालेन शाहले आकस्मिक बैठक आह्वान गरेका हुन्।

यो आकस्मिक बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अधिकारीहरू तथा विभिन्न सुरक्षा निकायका शीर्ष प्रतिनिधिहरूको सहभागिता रहेको छ।

भोटेकोशीको बाढीले तल्लो तटीय क्षेत्रमा पार्न सक्ने प्रभाव र त्यसको समयमै आँकलन गरी आवश्यक पर्ने सुरक्षा जनशक्ति तथा स्रोतसाधनलाई तत्काल परिचालन गर्ने विषयमा बैठकमा घनीभूत छलफल हुने छ। प्राकृतिक प्रकोपको यो विपत्तिलाई गम्भीर रूपमा लिँदै राज्यका सबै संयन्त्रलाई हाइअर्टमा बस्न प्रधानमन्त्री कार्यालयले सचेत गराएको छ।

बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बस्तीहरूबाट नागरिकलाई तत्काल सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न प्रधानमन्त्री शाहले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई स्पष्ट निर्देशन दिइसकेका छन्। बाढीको बहाव निरन्तर बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै मानवीय क्षति हुन नदिन उद्धार टोलीलाई पूर्ण तयारीका साथ खटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्थानीय प्रशासनलाई उद्धार र राहत सामग्रीसाथ तुरुन्तै घटनास्थलमा पुग्न भनिएको छ भने प्रभावित क्षेत्रका नागरिकहरूलाई अनावश्यक सतर्कता अपनाउन अपिल गरिएको छ।