१० भदौ २०८३, बुधबार

बाढी प्रभावित ४ जिल्लामा नेपाल टेलिकमकाे फोन र डेटा निःशुल्क, उद्धारका लागि हेलिकप्टरलाई अनुमति नचाहिने



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले जनजीवन प्रभावित बनेपछि सरकारले उद्धार तथा राहत कार्यलाई सहज बनाउन चार जिल्लामा सञ्चार सेवा निःशुल्क गर्ने निर्णय गरेको छ।

सरकारले धादिङ, नुवाकोट, रसुवा र चितवनमा नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो। विपद्का बेला उद्धारमा खटिएका निकाय, सुरक्षाकर्मी, स्थानीय प्रशासन तथा सर्वसाधारणबीच आवश्यक समन्वय कायम गर्न सञ्चार सेवा सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सडक तथा अन्य भौतिक संरचनामा क्षति पुग्दा उद्धार र राहतका लागि सूचना आदानप्रदानको भूमिका अझ महत्वपूर्ण बनेको छ। यस्तो अवस्थामा फोन तथा इन्टरनेट प्रयोगमा आर्थिक भार नपरोस् र प्रभावित क्षेत्रबाट तत्काल सूचना सम्प्रेषण गर्न सकियोस् भन्ने उद्देश्यले टेलिकम सेवा निःशुल्क गरिएको हो।

यसैबीच, सरकारले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यमा प्रयोग हुने निजी हेलिकप्टरका लागि छुट्टै अनुमति लिनुपर्ने व्यवस्था समेत हटाएको छ।