१० भदौ २०८३, बुधबार

भोटेकोशी बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, क्षतिग्रस्त सवारीको पहिचान र बीमा प्रक्रियालाई छरितो बनाउन नाडाको आग्रह



काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेँसी र त्रिशूली लगायतका क्षेत्रमा पुर्‍याएको क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले गहिरो दुःख व्यक्त गरेको छ।

नाडाले प्रभावित नागरिक, व्यवसायी र श्रमिकहरूप्रति सहानुभूति जनाउँदै उद्धार र राहतका लागि सरकारसँग हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ।

नेपालको प्रमुख उत्तरी व्यापारिक तथा अटोमोबाइल आपूर्ति शृङ्खलाका लागि रसुवा–केरुङ नाका अत्यन्त महत्त्वपूर्ण मानिन्छ। बाढीका कारण भन्सार क्षेत्रमा रहेका अटोमोबाइल व्यवसायीका सवारीसाधन र अन्य सामानमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको नाडाले जनाएको छ।

सडक, पुल, भन्सार तथा व्यापारिक पूर्वाधारमा पुगेको क्षतिले देशको समग्र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पर्ने भएकाले नाडाले तत्काल विस्तृत क्षति मूल्याङ्कन गर्न आग्रह गरेको छ।

साथै, प्रभावित सडक तथा यातायात पूर्वाधारको शीघ्र पुनःस्थापना गरी केरुङ नाकाबाट हुने व्यापारिक गतिविधिलाई प्राथमिकताका साथ सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै क्षतिग्रस्त सवारीसाधनको पहिचान, बीमा दाबी तथा भन्सारसम्बन्धी प्रक्रियालाई सरल र द्रुत बनाउन नाडाले माग गरेको छ।

निजी क्षेत्रका तर्फबाट राहत तथा उद्धार कार्यमा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै नाडाले प्रभावित व्यवसायीलाई सहजीकरण गर्न सरकारसँग अपिल गरेको छ।