१० भदौ २०८३, बुधबार

एकै वर्ष भित्रियो साढे २३ खर्ब रेमिट्यान्स, असारमा मात्रै साढे २ खर्ब



काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले बढेर २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।

अन्तिम महिना असारमा मात्र २ खर्ब ४२ अर्ब ३३ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२५ खर्ब ८१ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.१८ खर्ब ७४ अर्ब ३० करोड रहेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६ हजार ५१९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८५ हजार ७८३ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ५ लाख ५ हजार ९५७ र ३ लाख ३३ हजार ३०९ रहेको थियो ।