विपद्को घडीमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा एक करोड सहयोगको घोषणा
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढी तथा देशका विभिन्न स्थानमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सम्पूर्ण बाढी–पहिरो प्रभावित नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, बाढी–पहिरोमा ज्यान गुमाएकाहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
विपद्का क्रममा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी र गैरसरकारी निकायको योगदानप्रति पनि कम्पनीले उच्च सम्मान व्यक्त गरेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्वलाई महत्वपूर्ण प्राथमिकताका रूपमा आत्मसात् गर्दै आएको जनाएको छ । राष्ट्रलाई आवश्यक परेको कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको भन्दै आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।














