११ भदौ २०८३, बिहिबार

हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठद्वारा राजीनामा, नयाँ नेतृत्वको चर्चा तीव्र



काठमाडौं । बैंकिङ क्षेत्रमा स्थापित ठूलो वित्तीय संस्था हिमालयन बैंक लिमिटेडमा नेतृत्व परिवर्तनको चरण सुरु भएको छ। लामो समयदेखि बैंकको सञ्चालक समितिको नेतृत्व गर्दै आएका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले बिहीबार बैंकको सञ्चालकसमक्ष औपचारिक रूपमा राजीनामा पत्र पेस गरेका हुन्। श्रेष्ठको यो निर्णयसँगै बैंकको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषय वित्तीय बजारमा चासोका साथ हेरिएको छ।

श्रेष्ठले छाडेको यो महत्त्वपूर्ण जिम्मेवारीमा कसलाई ल्याउने भन्ने विषयमा अहिले बैंकभित्र आन्तरिक र बाह्य चर्चा परिचर्चा सुरु भइसकेको छ। उपलब्ध संकेतहरूका आधारमा हाल बैंकको सञ्चालक समितिमा कार्यरत बैकुण्ठ अर्याल नयाँ अध्यक्ष बन्ने प्रबल सम्भावना रहेको छ।

अर्याल नेपाल सरकारका पूर्वमुख्यसचिव हुन्, जसले यसअघि नै मुलुकको प्रशासनिक संयन्त्रको उच्च तहमा रहेर लामो समय काम गरिसकेका छन्। उनी वर्तमानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट संस्थागत प्रतिनिधिको रूपमा हिमालयन बैंकको सञ्चालक समितिमा सक्रिय छन्।

विगत लामो समयदेखि श्रेष्ठको कुशल नेतृत्वमा अगाडि बढेको हिमालयन बैंकले अब नयाँ नेतृत्व पाउने निश्चित जस्तै भएको छ। देशको प्रशासनिक क्षेत्रको उच्च तहमा लामो अनुभव सँगालेका व्यक्ति बैंकिङ क्षेत्रको नेतृत्वमा आउन सक्ने सम्भावनालाई अर्थतन्त्रका जानकारहरूले चासोका साथ हेरेका छन्।

बैंकको आगामी सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गर्नुका साथै नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाउने अपेक्ष गरिएको छ। यस परिवर्तनले बैंकको आन्तरिक सुशासन र व्यावसायिक रणनीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुरा भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।