११ भदौ २०८३, बिहिबार

चीनले बाढीको सूचना दिएन भन्ने आरोपप्रति चिनियाँ दूतावासको स्पष्टीकरण



काठमाडौं । चीनले नेपाललाई बाढीको सम्भावित जोखिमबारे पूर्वसूचना नदिएको भन्ने आरोपलाई काठमाडौंस्थित चिनियाँ दूतावासले अस्वीकार गरेको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै दूतावासले यस्ता दाबीलाई भ्रामक र तथ्यहीन भएको जनाएको हो।

नेपालमा आएको विपद् चीनतर्फको कुनै बाँध भत्किएका कारण भएको तथा त्यसबारे नेपाललाई जानकारी नदिइएको भन्ने प्रचारमा सत्यता नरहेको दूतावासको भनाइ छ। दूतावासका अनुसार अगस्ट २६ को बिहान नेपालतर्फ ठूलो प्राकृतिक विपद् भएको थियो। उक्त घटनाले केरुङ–रसुवागढी सीमाक्षेत्रमा ठूलो परिमाणमा लेदोसहितको पहिरो निम्त्याएको जनाइएको छ।

विपद्का कारण नेपालमा मात्र नभई चीनतर्फ पनि व्यापक क्षति भएको दूतावासले जनाएको छ। चीनतर्फ समेत केही व्यक्ति बेपत्ता भएको उल्लेख गर्दै दूतावासले दुवै देश प्रभावित भएको बताएको छ। संकटको समयमा एकअर्कामाथि आरोप लगाउनुभन्दा उद्धार, राहत र पुनःस्थापनामा सहकार्य गर्नुपर्नेमा दूतावासले जोड दिएको छ।

दूतावासले दोषारोपणले समस्या समाधान नगर्ने र विपद्को समयमा संयुक्त प्रयास तथा समन्वयले मात्र प्रभावितको ज्यान जोगाउन प्रभावकारी भूमिका खेल्ने जनाएको छ। नेपाल र चीनबीच सहकार्य बढाउँदै प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने दूतावासको आग्रह छ।