कालिका कन्स्ट्रक्शनद्वारा बाढीपहिरो पीडितका लागि १ करोड १ लाख सहयोग
काठमाडौं । कालिका कन्स्ट्रक्शन प्रालिले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक विक्रम पाण्डेले उक्त रकम बाढीपहिरो पीडितको सहयोगार्थ कोषमा उपलब्ध गराएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका पाण्डेले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएका छन् ।चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति पाण्डेले दुःख व्यक्त गरेका छन् ।
उनले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
कालिका कन्स्ट्रक्शनले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले सरकारको उद्धार तथा राहत कोषमा गरेको यो योगदानले तत्कालीन राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।














