बाढी अपडेट : जलविद्युत आयोजनामा कार्यरत करिब २०० जना सम्पर्कविहीन, सयौँ उद्धारको पर्खाइमा
काठमाडौँ। भोटेकोशीमा आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। उपलब्ध प्रारम्भिक विवरणअनुसार माथिल्लो त्रिशूली–१, रसुवागढी, मैलुङ खोला, रसुवा भोटेकोशी र लाङटाङ खोला जलविद्युत आयोजनामा गरी करिब २०० जना जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ।
माथिल्लो त्रिशूली–१ मा मात्रै ९४ जना सम्पर्कविहीन
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये नेपाली र विदेशी नागरिक रहेको बताइएको छ।
त्यस्तै, आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन्, जसमा ८ जना कोरियन नागरिक रहेको जानकारी छ। आयोजनाका परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन भएको बताइएको छ।
आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना र पावरहाउस क्षेत्रमा २०० जनाभन्दा बढी उद्धारको पर्खाइमा रहेको जानकारी छ। आयोजनास्थलबाट पहिलो चरणको उद्धार भएको भन्ने अपुष्ट खबरसमेत आएको छ।
रसुवागढी आयोजनामा ५१ जना सम्पर्कविहीन
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन रहेको बताइएको छ। तिमुरेमा तीन जनाले अग्लो स्थानमा पुगेर ज्यान जोगाएको जानकारी आए पनि उनीहरूसहित अन्यसँग अझै सञ्चार सम्पर्क स्थापित हुन नसकेको बताइएको छ।
मैलुङ खोलाका ८ कर्मचारीको अवस्था अज्ञात
५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत ८ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन्। उनीहरूको अवस्था बुझ्न हेलिकप्टर व्यवस्थापन गरी स्थलगत अवलोकन गर्ने प्रयास भइरहेको छ।
रसुवा भोटेकोशी आयोजनामा दुई जना सम्पर्कविहीन
१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा सिभिल ठेकेदार सिनो हाइड्रोका दुई जना सम्पर्कविहीन छन्। पाँच जना भने नजिकैको गाउँमा शरण लिएर बसेका छन्। उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक रहेको बताइएको छ। उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ।
लाङटाङ खोलामा ६० जनाको अवस्था अज्ञात
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा सुरुङभित्र थुनिएर सम्पर्कविहीन भएका ६० जनासँग अझै सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरूमध्ये २५ जना स्टाफ र ३५ जना कामदार रहेको बताइएको छ।
विकासकर्ता कम्पनीका प्रतिनिधिहरू उद्धारका लागि घटनास्थलतर्फ गएर प्रयास अघि बढाए पनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा उद्धार कार्यमा कठिनाइ भइरहेको जानकारी छ।














