बाढी प्रभावित क्षेत्रका ऋणीलाई कर्जा भुक्तानीमा सहजीकरण गर्ने सिबिफिनको प्रतिबद्धता
काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको छाता संगठन नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले भोटेकोसी बाढीप्रभावित क्षेत्रका ऋणी तथा व्यवसायलाई आवश्यक सहजीकरण गर्ने जनाएको छ ।
सीबीफीनले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत सबैको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गरेको छ ।
बाढीबाट बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको सीबीफीनले जनाएको छ । प्रभावित क्षेत्रका जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने सीबीफीनको भनाइ छ ।
सीबीफीनले कठिन परिस्थितिमा मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता रहेको जनाएको छ । प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज र प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक प्रबन्ध गरिरहेको जनाएको छ ।
वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता तथा ब्याज भुक्तानीमा सहजीकरण र व्यवसाय पुनःसञ्चालन तथा पुनर्निर्माणका लागि उपयुक्त सहयोग उपलब्ध गराउन सीबीफीनले सदस्य संस्थाका सञ्चालक समितिमार्फत आवश्यक समन्वय तथा सहजीकरण गर्ने जनाएको छ ।
त्यस्तै, सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी उपयुक्त नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न पनि सीबीफीन प्रयासरत रहने जनाएको छ । राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने भन्दै सीबीफीनले उद्धार, राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सरकार, राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग हातेमालो गरी आवश्यक सहयोग गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार र प्रतिबद्ध रहेको जनाएको छ ।
प्रभावित परिवार, व्यवसाय तथा समुदायलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले चालेका हरेक कदममा हातेमालो गर्दै एकताबद्ध भएर परिचालित हुन सीबीफीनले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई अपिलसमेत गरेको छ ।














