११ भदौ २०८३, बिहिबार

राहत र उद्धारमा सघाउन बेलायतको ५० लाख पाउण्ड सहयोग घोषणा



काठमाडाैं । नेपालकाे विपद् प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन बेलायत सरकारले ५० लाख पाउण्ड सहयोगको घोषणा गरेको छ।

बुधबार बिहान तिब्बत तर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन लगायतका जिल्लाहरूमा भएको अकल्पनीय मानवीय एवं भौतिक क्षति बिडम्बनापूर्ण र हृदयविदारक भएको भन्दै बेलायतले साे सहयाेग घाेषणा गरेकाे हाे ।

बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले आपत्कालीन सहयोग रकमस्वरूप करिब एक अर्ब नेपाली रुपैयाँ (६.८ मिलियन डलर) उपलब्ध गराउने बताएका हुन्।

यति ठूलो मात्रामा भएको क्षति र यस्तो दृश्य पहिले कहिल्यै नदेखिएको उल्लेख गर्दै उनले स्थिति नियन्त्रण र राहतका लागि बेलायतले प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार टोली (इमर्जेन्सी रेस्पोन्डर) पठाउने प्रस्ताव पनि गरेको जनाएका छन्।

यसैबिच, विपद्का क्रममा केही बेलायती नागरिकहरू पनि बेपत्ता भएको आशङ्का गरिएको छ। प्रधानमन्त्री बर्नहामले यो कठिन र दुःखद परिस्थितिमा बेपत्ता नागरिकका परिवारहरूलाई सरकारका तर्फबाट सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन्।