११ भदौ २०८३, बिहिबार

चेम्बरद्वारा बाढीपीडितका लागि राहत अभियान तीव्र



काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत अभियान अघि बढाएको छ ।

चेम्बरले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी यात्रु, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा चेम्बर सधैं रहने प्रतिबद्धता जनाएको छ ।

बाढीका कारण घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको चेम्बरले जनाएको छ ।

विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले चेम्बरले राहत संकलन तथा वितरण कार्य अघि बढाएको जनाएको छ । चेम्बरले रसुवा, नुवाकोट तथा धादिङमा सम्बन्धित जिल्ला चेम्बरमार्फत तत्काल नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको छ भने आवश्यकताअनुसार थप राहत सहयोग जारी राख्ने जनाएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० केजी पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ । त्यस्तै, १०० केजी पेलोड क्षमताको ड्रोन पठाउने अन्तिम तयारी भइरहेको र थप सहयोग गरिने चेम्बरले जनाएको छ ।

चेम्बरले प्रभावित क्षेत्रमा १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइसकेको छ । यसैगरी नेपाल युथ चेम्बरले भाद्र ११ गते जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको र आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

चेम्बरले आफ्ना मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, विपद् व्यवस्थापन परिषद् तथा अन्य वस्तुगत संघलाई उद्धार, राहत तथा आवश्यक व्यवस्थापन कार्यमा तत्काल सक्रिय हुन आग्रह गरेको छ ।

विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै एकजुट हुनुपर्ने चेम्बरले बताएको छ । चेम्बरले तत्काल उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।